Below Menu
Below Menu

अर्थतन्त्र सुधार तर जोखिममुक्त छैन : आईएमएफ

अर्थतन्त्र सुधार तर जोखिममुक्त छैन : आईएमएफ

काठमाडौं : नेपालको अर्थतन्त्र सुधार हुँदै गए पनि अझै जोखिममुक्त नभएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को निष्कर्ष निकालेको छ।

एसिया प्रशान्त क्षेत्रका मिसन प्रमुख जार्को टुरुनेनको नेतृत्वमा फागुन ३ देखि १६ सम्म विभिन्न पक्षसँग छलफल गर्दै नेपाली अर्थतन्त्रका विषयमा अध्ययन गरेको आईएमएफले विदेशी मुद्रा खर्च गर्न अझै नेपाल सचेत हुनुपर्ने जनाएको छ।

‘पर्यटन क्षेत्र चलायमान हुन, कृषिक्षेत्रको उत्पादकत्व बढ्नु तथा रेमिट्यान्स आप्रवाह बढ्नु नेपालको अर्थतन्त्रको सकारात्मक पक्ष हुन्,’ कोषले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर, अहिले संसारभर अर्थतन्त्र कहाँ जान्छ भन्ने अनिश्चितता छ । खाद्य पदार्थको मूल्य बढ्यो भने फेरि पनि नेपालको अर्थतन्त्र समस्यामा पर्न सक्छ । त्यसैले नेपाल राष्ट्र बैंकले निर्धारण गरेको ७ प्रतिशतमा मुद्रास्फ्रीति सीमित गर्ने गरी नीतिगत निर्णय लिनुपर्छ।’

नेपालले आगामी दिनमा विदेशी मुद्राको सञ्चितिमा दबाब नपर्ने गरी सचेत मौद्रिक नीति बनाउनुपर्ने कोषको सुझाव रहेको छ । कोरोना महामारीका क्रममा दिइएको सहुलियत हटाउँदै मौद्रिक नीतिमा गरिएको कडाइले नेपालमा आर्थिक स्थायित्व कायम गर्न सहयोग पुगेको कोषको ठहर छ।

वित्तीय अनुशासन कायम राख्न सरकारी खर्चको प्राथमिकीकरण नहुनु, बढ्दो ब्याजदरले कर्जा तिर्न सक्ने क्षमता कमजोर हुनु र बैंकको पुँजी पर्याप्तता अनुपात बढ्दै जानु नेपालको अर्थतन्त्रका चुनौती भएको कोषको बताएको छ । यस्तै, बैंक वित्तीय संस्थालाई नियमन गर्न बनाइएको सुपरभिजन इन्फर्मेसन सिस्टमका साथै अन्य विभिन्न नीतिगत सुधारबाट पनि कोषका अधिकारी सन्तुष्ट देखिएका छन्।

नेपालले राजस्व परिचालनसम्बन्धी नीतिगत सुधार गर्ने, वित्तीय जोखिम व्यवस्थापनसम्बन्धी नयाँ नीति बनाउने, सार्वजनिक वित्त परिचालनको प्रभावकारिता र पारदर्शिता बढाउने, वित्तीय संस्थाको नियमनमा सुधार गर्ने तथा राष्ट्र बैंक ऐनमा संशोधन गर्ने प्रतिबद्धता जनाएकाले विस्तारित कर्जा सुविधा बापतको दोस्रो किस्ता निकासा गर्न मिसन सहमत भएको छ।

Advertisment

थप समाचार