Below Menu

एनआईसी एशिया बैंकको ‘डाउनफल’ श्रृङ्खला: अब्बल बैंकको पिल्लर एकाएक कसरी डगमगायो ?

एनआईसी एशिया बैंकको ‘डाउनफल’ श्रृङ्खला: अब्बल बैंकको पिल्लर एकाएक कसरी डगमगायो ?

काठमाडौं : केही समय अघिसम्म राम्रा र उत्कृष्ट बैंकको सूचिको अग्रपंतिमा आउँथ्यो एनआईसी एशिया बैंक । उत्कृष्ट बैंकिङ सेवा, देशैभरी साखा सञ्जाल र राम्रो मुनाफाले लगानीकर्ताहरु समेत बैंकप्रति निकै आकर्षित थिए ।

उसो त लगानी गरेर प्रतिफल खाने ‘शेयर होल्डर’ हरु मात्र होइन बैंकमा खाता खोलेर निक्षेप जम्मा गर्नेहरुको पनि छुट्टै सान थियो । एनआईसी एशिया बैंकमा खाता छ भन्दा पनि जो कोहीँले गर्व गर्ने स्थिति थियो । तर, पछिल्लो समय बैंकको व्यवस्थापकीय प्रणाली कमजोर बन्दा बैंकले दशकौं लगाएर आर्जन गरेको त्यो साख घट्न शुरु गरेको छ । 

भन्नेनै हो भने, बैंकको वृहत् र आक्रामक वित्तीय कारोबारको पहाड वर्तमान व्यवस्थापकहरुले सम्हाल्न नसक्दा बैंक वित्तीय जोखिममा पर्न थालेको छ । बैंकले दशकौं लगाएर आर्जन गरेको त्यो साखको यसै कारण ओरालो (डाउनफल) लाग्न शुरु भएको छ । 

वि.स.२०५५  साउन ५ गते (१९९८ जुलाई २१) मा विराटनगरमा रजिष्टर्ड कार्यालय रहने गरी पहिलो पटक एनआईसी बैंकको स्थापना भएको थियो । एउटा शाखाबाट शुरु गरेको बैंकमा १९ जना कर्मचारी थिए । आठ करोड १२ लाख ५० हजार चुक्ता पुँजीसहित स्थापना भएको बैंक करिब डेढ दशकपछि वि.स.२०७० मा बैंक अफ एशियासँग मर्जर भयो ।

दुई ठूला बैंकसहित एकीकृत वित्तीय कारोबार गर्ने भएपछि मर्जरपछिको एनआईसी एशिया बैंक ५ अर्बको चुक्ता पुँजीसहित वृहत् बैंकको रुपमा उदायो । दुई वाणिज्य बैंकहरुबीच भएको यो मर्जर नेपालको बैंक तथा वित्तीय क्षेत्रमा पहिलो र ऐतिहासिक मर्जर हो ।

मर्जरपछि वित्तीय कारोबार, लगानी र प्रतिफललाई निकै आक्रामकता दिएको बैंकले सबैको विश्वास जितेको थियो । छोटो समयमानै निकै सबल मानिएको बैंकले लगत्तै वेलायतको प्रतिष्ठित म्याग्जिन द बैंकर फाइनान्सियल टाइम्स, युकेबाट समेत सम्मानित भयो । जुन सम्मान २००७ पछि अन्तराष्ट्रिय रुपमा नेपालको बैंकले पाएको दोस्रो पटकको प्रतिष्ठित सम्मान हो । 

नेपालको सबैभन्दा सुरक्षित, सुदृढ र जिम्मेवार बैंक मानिएको एनआईसी एशिया बैंकको देशैभरी ३६० वटा शाखा कार्यालयहरु छन् । ६७१ वटा एटीएम बुथ रहेका छन् । यस्तै ११७ वटा विस्तारित काउन्टर रहेको बैंकले ४५ स्थानबाट शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको छ । यस्तो वृहत्तर बैंकको व्यवस्थापकीय प्रणाली कमजोर र बिचलित हुँदा पछिल्लो समय बैंकको वित्तीय कारोबार जोखिमउन्मुख भएको ।

बढ्दो निष्कृय कर्जा, खस्किँदो वित्तीय अवस्था 

आर्थिक वर्ष २०७२/७३ देखिको बैंकको वित्तीय स्थिति हेर्दा निष्कृय कर्जा (एनपीएल) निरन्तर बढिरहेको छ । यसको असर बैंकको प्रतिफलमा मात्र नभएर वित्तीय जोखिममा समेत परेको छ ।

एकातिर कर्जाको माग बढ्न सकेको छैन भने अर्कोतर्फ बैंकहरुको कर्जा असुलीमा समस्या देखिदा बैंकको लगानी थप जोखिमपूर्ण बन्दै गएको छ । फलतः पछिल्लो समय एनआईसी एशिया बैंकको नाफा प्रभावित भएको छ भने वितरणयोग्य मुनाफा पनि ऋणात्मक देखिएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म बैंकले १५ करोड १७ लाख ३० हजार रुपैयाँ मात्र नाफाआर्जन गरेको छ । गत आव सोही अवधिमा बैकले १ अर्ब ९० करोड ३८ लाख बढी नाफा कमाएको थियो । यसरी एकै वर्षमा बैंकको नाफामा ठूलो गिरावट आउनेले बैंकको वित्तीय स्थिति नाजुक अवस्थामा नै रहेको प्रस्ट हुन्छ । 

झण्डै १५ अर्ब ( १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ) चुक्ता पुँजी रहेको बैंकको नाफाको स्थिति हेर्दा अब बैंकले लगानीकर्ताको विश्वास टिकाइराख्ने स्थिति देखिदैन ।

पुष मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २.०४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९८.९२ प्रतिशत र मूल्य आम्दानी अनुपात १८५.११ प्रतिशत रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको प्रतिशेयर आम्दानीमा ७८ प्रतिशतको गिरावट आएको छ । तथापि, यो पुस मसान्तसम्मको रिपोर्टका आधारमा हो ।

आर्थिक वर्ष २०७९/८० मा बैंकको प्रतिशेयर आम्दानी ४० रुपैयाँ २२ पैसा रहेकोमा पछिल्लो वर्ष २०८०/८१ मा सो घटेर ९ रुपैयाँ २६ पैसामा झरेको छ । बैंकको प्रतिफलमा ७६ प्रतिशतमाथिको गिरावटले लगानीकर्ताहरु निरुत्साहित हुने खतरा बढेको छ । थप, पछिल्लो समय बैंकको बढ्दै गरेको खराब कर्जाको ग्राफले निक्षेपकर्ताको विश्वास समेत गुमाउने स्थिति बनेको छ ।


 

कारबाहीको डण्डा 

एनआईसी एशिया बैंकमाथि नियामक नेपाल राष्ट्र बैंकले केहीँ कारबाहीको डण्डा समेत चालाएको छ । आर्थिक वर्ष २०७२/७३ को प्रथम त्रैमासमा केन्द्रीय बैंकले बैंकलाई एक लाख ६५ हजार ६६७ रुपैयाँ १२ पैसा बराबरको नगद कारबाही गरेको थियो ।

यस्तै २०८०/८१ को प्रथम त्रैमासमा यस बैंकबाट इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन नं. १५ को बुँदा नं. ३ को (८) मा उल्लेखित व्यवस्था विपरीत हुने गरी ग्राहकहरुसँग बढी लिएको ब्याज लिएको भन्दै सम्बन्धित ग्राहकको खातामानै रकम फिर्ता गर्न केन्द्रीय बैंकले लगाएको थियो । तर, बैंकले कतिपय ग्राहकको खातामा पैसा फिर्ता नगरेको एवं आव २०७८/७९ र २०७९/८० मा पुनः निर्देशन विपरीत ब्याज बढाएको, नियम विपरीत कर्जाको जोखिम भार कम प्रदान गरी गलत रिपोर्टिङ्ग गरेको भन्दै बैंक फेरि केन्द्रीय बैंकको कारबाहीमा पर्यो ।

यसैगरी आव २०८१/८२ को दोस्रो त्रैमासमा पनि एनआईसी एशिया बैंकका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्घ संस्थाहरुलाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, बैंकका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्घ संस्थाहरुको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेको आरोप बैंकमाथि लागेको थियो । जतिबेला केन्द्रीय बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवाल, संचालक त्रिलोकचन्द्र अग्रवाल तथा संचालक रामचन्द्र संघाइलाई नगद कारबाहीसहित चेतावनी दियो ।

एनआईसी एशिया बैंकबाट पटकपटक कर्जा वर्गिकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पुँजीकोष तथा जोखिमभारसम्बन्धी निर्देशन, ब्याजदरसम्बन्धी निर्देशन एवम् संस्थागत सुशासनसम्बन्धी कतिपय निर्देशनको पालना नगरेको राष्ट्र बैंकले जनाएको छ ।

ऋण असुली न्यायाधीकरणमा मुद्दाका चाङ

पछिल्लो समय एनआईसी एशिया बैंक ऋणीसँग धेरै मुद्दा मामिला गर्ने बैंकको रुपमा समेत परिचित बनेको छ । २०७९ कात्तिक ४ गतेदेखि हालसम्म बैंकको ऋण असुली सम्बन्धी १४४ वटा मुद्दा परेका छन् । यसअवधिमा ऋणीसँग बैंकले ३ अर्ब ५२ करोड ९२ लाख २६ हजार ३७६ रुपैयाँ बराबरको बिगो दाबी गर्दै ऋण असुली न्यायाधीकरणमा मुद्दा दायर गरेको हो ।

ऋण नउठेपछि छुट अफरको फण्डा

कर्जा लगानी उठ्न छाडेपछि बाध्य भएर बैंकले छुट अफर समेत ल्याउनु परेको थियो । २०८० चैत्र मसान्तसम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने बैंकले अफर गरेको थियो ।

बैंकले भाखा नाघेको ९१ दिनदेखि १८० दिनमा चुक्ता भुक्तान गरेमा साधारण ब्याज रकममा १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिनमा २५ प्रतिशत र ३६५ दिनभन्दा बढि भएमा ३५ प्रतिशत छुट पाउने योजना ल्याएको थियो । तर पनि बैंकको ऋण असुलीमा खासै सुधार आउन सकेन ।

लाभांश वितरणमा रोक

बैंकले आर्थिक वर्ष २०६९/७० मा २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसयता आव २०७६/७७ सम्म बैंकले निरन्ततर रुपमा शेयरधनीलाई लाभांश वितरण गर्दै आएको थियो । 

तर, आव २०७७/७८ र २०७८/७९ को लाभांश वितरणमा भने राष्ट्र बैंकले रोक लगाएको थियो । राष्ट्र बैंकले शेयरधनीले गरेको लगानीभन्दा बैंकले लिएको दायित्वको अनुपात बढी भएको भन्दै एनआईसी एशिया बैंकलाई केन्द्रीय बैंकले लाभांश वितरणमा रोक लगाएको थियो ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जारी गरेको एकीकृत निर्देशिकाको इ.प्रा.निर्देशन नम्बर १ मा न्युनतम पुँजीकोष सम्बन्धी व्यवस्था गरेको  थियो ।

प्राथमिक पुँजीकोष भनेको शेयर धनीको लगानी पनि हो । जसमा चुक्ता पुँजी, जगेडा कोष र सञ्चित मुनाफा  समावेश भएको हुन्छ । अर्को पुरक पुँजीमा भने ऋणपत्रलगायत समावेश गरिएको हुन्छ । उक्त पुँजीको आधारमा बैंकले कतिसम्म व्यवसाय गर्न सक्छ भन्ने निर्धारण हुने गरेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुको लागि पुँजी पर्याप्तता फ्रेमवर्क २०१५ अनुसार  न्युनतम प्राथमिक पुँजी तथा पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था गरेको छ । तर, एनआईसी एशिया बैंकले भने उक्त पुँजीकोष कायम गर्न नसकेपछि उक्त वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरणमा रोक लगाएको थियो ।

पुँजी पर्याप्तता फ्रेमवर्क २०१५ अनुसार प्राथमिक पुँजीको ८.५ प्रतिशत र पुरक पुँजी  गरेर न्युनतम ११ प्रतिशत पुँजीकोष पुग्नुपर्ने हुन्छ । एनआईसी एशिया बैंकको २०७८ असार मसान्तको कुल पुँजीको १२.४१ प्रतिशत भए पनि प्राथमिक पुँजीकोष भने ७.५१ प्रतिशतमात्रै रहेको थियो । जबकि राष्ट्र बैंकको नियामकीय व्यवस्था अनुसार प्राथमिक पुँजी कोषको अनुपात ८.५ प्रतिशत हुनुपर्ने थियो ।

प्रस्तावित लाभांश अस्वीकृत भएपछि एनआईसी एशिया बैंकले नेपाल स्टक एक्चेञ्जलाई पठाएको पत्रमा भनिएको थियो, “नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागबाट बैंकको ‘क्यापिटल कन्जरभेसन बफर’ पर्याप्त नदेखिएको जनाउँदै  लाभांश घोषणा  तथा वितरण सम्बन्धी प्रस्ताव स्वीकृत नभएको जनकारी प्राप्त भयो ।”

प्राथमिक पुँजी कोषभित्र पनि न्युनतम साझा इक्विटी ४.५ प्रतिशत  पुँजी संरक्षण बफर २.५ प्रतिशत हुनुपर्नेछ । त्यस्तैगरी न्युनतम साझा (टायर १) पुँजी अनुपात पुँजी संरक्षण बफर बाहेक ६ प्रतिशत  र बफरसहित ८.५ प्रतिशत हुनुपर्छ । जसलाई प्राथमिक पुँजीकोष अनुपात पनि भनिएको हो । तर, एनआईसी एसिया बैंकले प्राथमिक पुँजीकोष अन्तर्गतको  पुँजी संरक्षण बफर पूरा गर्न नसक्दा लाभांश वितरण गर्न नपाएको हो । 

एनआईसी एशिया बैंकको सञ्चालक र उच्च व्यवस्थापनलाई  पटक पटक बोलाएर पुँजी अनुसार मात्रै व्यवसाय गर्न निर्देशन दिए पनि अटेर गरेको र जोखिम बढ्दै गएपछि केन्द्रीय बैंकले नियामकीय औजारको रुपमा बैंकमाथि लाभांश वितरणमा अंकुश लगाएको हो । 

*यसअघि तथ्यांकमा केही अन्यथा भएकाले सच्याइएकाे छ।
 

Sponsored Advertisment