Below Menu
Below Menu

‘बचतले नै लगानी र आम्दानीको बाटो देखाउने हो’

‘बचतले नै लगानी र आम्दानीको बाटो देखाउने हो’

काठमाडौं : ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ भन्ने नाराका साथ आजबाट ‘ग्लोबल मनी विक-२०२३’ सुरु भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रुपमा मनाइने ग्लोबल मनी विकको यो ११ औँ संस्करण हो।

‘ग्लोबल मनी विक-२०२३’ को उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबैभन्दा कम बचत गर्ने मुलुकमा पर्ने बताएका छन्। ‘राष्ट्रिय आयसँग दाँजेर हेर्ने हो भने हाम्रो बचतको प्रवृत्ति कमजोर छ’, उनले भने, ‘त्यसैले हामीले बचत गर्ने बानीको विकास गर्नुपर्छ। बचतले नै लगानी र आम्दानीको बाटो देखाउने हो।’

युवा विद्यार्थीमाझ वित्तीय जागरण र वित्तीय चेतना अभिवृद्धिका लागि ग्लोबल मनी विकको अभियान महत्वपूर्ण अवसर रहेको गभर्नर अधिकारीको भनाइ थियो। बैंकिङ, पुँजीबजार, बीमाजस्ता वित्तीय क्षेत्रबारे जानकारी लिन र आफुले सिकेका ज्ञान तथा सीपलाई आफ्ना समाज र परिवारमा समेत प्रवाह गर्न उनले आग्रह गरे।

 

यो अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले विभिन्न कलेजका १०० भन्दा बढी विद्यार्थीको सहभागितामा ललितपुरमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरिएको थियो। नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिब इन्स्टिच्युट लिमिटेडसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, डेपुटी गभर्नरद्वय डा। नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रसँगै राष्ट्र बैंक र वित्तीय क्षेत्रका अन्य नियामक निकायका उच्च अधिकारीहरुको उपस्थिति थियो।

कार्यक्रममा गभर्नरको कार्यालयका कामु कार्यकारी निर्देशक किरण पण्डितले स्वागत मन्तव्य राख्दै ग्लोबल मनी विकको सान्दर्भिकता र औचित्यबारे प्रकाश पारेका थिए।

कार्यक्रमको दोस्रो सत्रमा राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण र सहकारी विभागका तर्पmबाट वित्तीय चेतना प्रवर्द्धनलाई समेटिएका ४ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो। चैत १२ गतेसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रमहरु सञ्चालन हुनेछन्।

नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमार्फत अलगअलग रुपमा युवालक्षित वित्तीय चेतनामुलक कार्यक्रम आयोजना हुनेछन्। यसका साथै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोबल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्नेछन्।

यस अभियानअन्तर्गत बैंकिङ/वित्तीय, पुँजीबजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिएका छन्। जसअन्तर्गत वित्तीय सचेतनामूलक अन्तर्क्रिया, र्याली र विद्यार्थीमाझ चेतनामूलक प्रतियोगिता सञ्चालन हुनेछन् भने सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट चेतनामूलक कार्यक्रम, श्रब्यदृष्य सामग्री र अन्तर्वार्ताहरु प्रसारण गरिनेछन्। यस्तै युवा विद्यार्थीलाई वित्तीय सेवाप्रदायक संस्थाको अवलोकन गराउने कार्यक्रमसमेत तय गरिएको छ। यो अभियानबाट युवा विद्यार्थीमा वित्तीय साक्षरताको प्रवर्द्धन र वित्तीय पहुँच विस्तारसँगै स्वरोजगार सिर्जना र उद्यमशीलताको विकास, उत्पादन तथा आयस्तर अभिवृद्धि भई मुलुकको आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ।

Advertisment

थप समाचार