काठमाडौं : सामाजिक सुरक्षाले हालसम्म ५ अर्ब रुपैयाँ भन्दाबढी रकम दावी भुक्तानी गरेको छ । कोषले चालु आवको साउन १० गतेसम्म ९० हजार ९३३ योगदानकर्तालाई ५ अर्ब १८ करोड रुपैयाँ दावी भुक्तानी गरेको हो ।
हालसम्म कोषमा योगदानबाट ३८ अर्ब ८९ करोड रुपैयाँ संकलन भएको छ । ४ लाख २६ हजार ६२८ योगदान कर्ता कोषमा आवद्ध भएका छन् भने १८ हजार ६५ जना रोजगारदाता आवद्ध भएका छन् ।
प्रदेशगत रुपमा हेर्ने हो भने रोजगार दाताको संख्या कोशी प्रदेशमा एक हजार ८७४, मधेश प्रदेशमा ८३७, बागमतीमा सबैभन्दा बढी १२ हजार ४९३, गण्डकीमा ड५०, लुम्बिनी प्रदेशमा एक हजार ४९४, कर्णाली प्रदेशमा सबैभन्दा कम २५१ जना र सुदुरपश्चिम प्रदेशमा २६६ रोजगारदाता आवद्ध भएका छन् ।
त्यसैगरी योगदानकर्ता तर्फ कोशी प्रदेशमा ४२ हजार ३६६, मधेश प्रदेशमा २२ हजार ५५८, बागमती प्रदेशमा ३ लाख २७ हजार ५४४, गण्डकीमा १६ हजार ३१२, लुम्बिनीमा १४ हजार ८४३, कर्णालीमा एक हजार ३७५ र सुदुरपश्चिममा एक हजार ६३० योगदान कर्ता रहेका छन् ।
कुन योजनामा कति भयो संकलन
हालसम्म कोषले पाँचवटा योजना सञ्चालनमा ल्याएको छ । जसमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाबाट एक अर्ब ११ करोड ९३ लाख ४४ हजार रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवार सुरक्षा योजनाबाट २ अर्ब २ करोड ३४ लाख ४८ हजार रुपैयाँ योगदान रकम संकलन भएको छ ।
त्यस्तै, कोषले वृद्ध अवस्था सुरक्षा योजनाबाट सबैभन्दा बढी ३२ अर्ब १२ करोड ५७ लाख १४ हजार रुपैयाँ र अतिरिक्त योजनाबाट ३ अबू ६२ करोड १९ लाख २९ हजार रुपैयाँ योगदान रकम संकलन गरेको तथ्यांकमा उल्लेख छ ।