आईएमई लाइफकाे बीमा पोलिसी त्याग्ने ३२७ प्रतिशतले बढे
काठमाडौं : पछिल्लो समय बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढेको छ । गत आर्थिक वर्षमा मात्रै १४ अर्ब भन्दा बढीका पोलिसी सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार गत असार मसान्तसम्म १४ अर्ब २७ करोड ५४ लाख रुपैयाँ बराबरको एक लाख ४ हजार ५०६ बीमालेख सरेन्डर भएका हुन्।
प्राधिकरणका अनुसार अघिल्लो आवको तुलनामा बीमा पोलिसी सरेन्डर गर्नेको संख्या २७.६६ प्रतिशतले बढेको हो । आव २०७८/७९ मा विभिन्न कम्पनीका ८१ हजार ८६० बीमितले १२ अर्ब १८ करोड ८ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका थिए ।
आर्थिक मन्दीका कारण बीमा पोलिसी त्याग्नेहरुको संख्या बढेको बीमा कम्पनीको भनाई छ । यसका साथै अभिकर्ताहरुले बीमितको क्षमता भन्दा बढीको बीमा गराएका कारण प्रिमियम तिर्न नसकेर पोलिसी त्याग्ने गरेको बीमा विज्ञहरु बताउँछन् ।
नेपाल लाइफको पोलिसी सरेन्डर गर्नेहरु घटे
यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमा पोलिसी सरेन्डर गर्नेहरु घटेका छन् । गत असार मसान्तसम्म ३२ हजार १२६ बीमितले ४ अर्ब ७८ करोड ८५ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् । उक्त रकम अघिल्लो आवको तुलनामा ४.५२ प्रतिशतले कम हो । आव २०७८/७९ मा नेपाल लाइफका २६ हजार ६०३ बीमतिले ५ अर्ब एक करोड ५४ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका थिए । पोलिसी त्याग्ने बीमितहरुको संख्या बढेपनि रकम भने घटेको छ ।
कुन कम्पनीका बीमितले कति त्यागे पोलिसी?
प्राधिकरणका अनुसार यस अवधिमा राष्ट्रिय बीमा कम्पनीको बीमालेख त्याग्ने बीमितको संख्या १४.८१ प्रतिशतले घटेपनि सरेन्डर रकम भने ३७.२५ प्रशिततले बढेको छ । अघिल्लो आवमा १६ हजार ९१७ बीमितले ८५ करोड ५५ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका थिए भने गत असार मसान्तसम्म १४ हजार ४११ बीमितले एक अर्ब १७ करोड ४२ लाख रुपैयाँ बराबरको बीमालेख त्यागेका छन्।
त्यस्तै, गत आवमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको एक अर्ब ४४ करोड २३ लाख रुपैयाँ बराबरको ९ हजार ९ बीमालेख सरेन्डर भएको छ । अघिल्लो आवको तुलनामा कम्पनीको सरेन्डर रकम ६७.७६ प्रतिशत रकमले बढी हो । प्राधिकरणका अनुसार यस अवधिमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका २० हजार १८० बीमितले ३ अर्ब ३१ करोड १८ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका हुन् । अघिल्लो आवको तुलनामा कम्पनीको बीमालेख त्याग्ने बीमितको संख्या १०४.५० प्रतिशतले बढेको छ ।
त्यसैगरी यस अवधिमा मेट लाइफको ४२ करोड ७२ लाख रुपैयाँ बराबरको ४ हजार ४५६ बीमालेख, सन नेपाल लाइफको ४ करोड ८९ लाख रुपैयाँ बराबरको ४४२ बीमालेख , रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड ७८ लाख रुपौयँ बराबरको एक हजार ५०८ बीमालेख , प्रभु लाइफको १५ करोड ७३ लाख रुपैयाँ बराबरको ६५९ वटा बीमालेख सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
त्यसैगरी गत असार मसान्तसम्म आईएमई लाइफका एक हजार ७१ बीमितले १० करोड २७ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् । यस अवधिमा उक्त कम्पनीको बीमालेख त्याग्नेको संख्या २३०.५६ प्रतिशतले बढेको छ भने पोलिसी रकम ३२७.६५ प्रतिशतले बढेको छ । अघिल्लो आवमा आईएमई लाइफका २ करोड ४० लाख रुपैयाँ बराबरको ३२४ वटा बीमा पोलिसी सरेन्डर भएका थिए ।
प्राधिकरणका अनुसार गत आवमा सूर्यज्योति लाइफका ३ हजार ६६६ बीमितले ७७ करोड ४४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् । सानिमा लाइफ कम्पनीको बीमा लेख सरेन्डर गर्नेहरुको संख्या बढेपनि सरेन्डर रकम भने घटेको छ । यस अवधिमा कम्पनीको १८ करोड ८५ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । अघिल्लो आवको तुलनामा कम्पनीको ११.५५ प्रतिशत कम रकमको पोलिसी सरेन्डर भएको हो ।
त्यस्तै, यस अवधिमा हिमालयन लाइफको ९३ करोड २१ लाख रुपैयाँ बराबरको ७ हजार ५६८ बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणले जनाएको छ । अघिल्लो आवमा उक्त कम्पनीका ५ हजार १६२ बीमितले ६९ करोड ८८ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका थिए । उक्त संख्या अघिल्लो आवको तुलनामा ३३.३७ प्रतिशतले बढी हो ।
एशियन र महालक्ष्मी लाइफको बीमा पोलिसी त्याग्ने घटे
प्राधिकरणका अनुसार गत असार मसान्तसम्म दुई कम्पनीको भने बीमालेख त्याग्नेहरुको संख्या घटेको छ । एशियन र महालक्ष्मी लाइफको बीमा पोलिसी सरेन्डर गर्ने बीमितको संख्या घटेको हो ।
गत असार मसान्तसम्म एशियन लाइफ इन्स्योेरेन्सको ४९ करोड ३९ लाख रुपैयाँ बराबरको ६ हजार ५७९ वटा बीमालेख सरेन्डर भएका छन् । यस अवधिमा कम्पनीको पोेलिसी त्याग्नेको संख्या १०.६५ प्रतिशतले घटेको छ भने सरेन्डर रकम १६.१४ प्रतिशतले घटेको छ । अघिल्लो आवमा उक्त कम्पनीका ७ हजार ३५७ बीमितले ५८ करोड ९० लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका थिए ।
त्यस्तै, यस अवधिमा महालक्ष्मी लाइफको ३ करोड ५७ लाख रुपैयाँ बराबरको ३१२ वटा बीमालेख सरेन्डर भएका छन् । अघिल्लो आवको तुलनामा कम्पनीको सरेन्डर रकम ४४.२१ प्रतिशत र बीमालेख त्याग्ने बीमितको संख्या १४.१९ प्रतिशतले घटेको हो ।
Advertisment