Below Menu
Below Menu

इमेजमा स्वार्थको चलखेल: बचत फिर्ता नगर्ने र संघर्ष समिति दुवैको नेतृत्वमा एमाले

इमेजमा स्वार्थको चलखेल: बचत फिर्ता नगर्ने र संघर्ष समिति दुवैको नेतृत्वमा एमाले

काठमाडौं : बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थामा नेकपा एमालेले राजनीति गरेको पाइएको छ । गत चैतदेखि बचत फिर्ता गर्न नसकेर समस्यामा रहेको उक्त सहकारीका संस्थापक अध्यक्ष देव कुमार नेपाली हुन् । अध्यक्ष नेपाली नेकपा एमालेको तर्फबाट ढोरपाटन नगरपालिकाको मेयर पदमा दोस्रो कार्यकालको लागि निर्वाचित भएका थिए ।

सदस्यहरुले बचत फिर्ताको माग गर्दै संस्थामा धाउन थालेपछि अध्यक्ष नेपालीले ६ महिनाको समयसिमा मागेका थिए । उनले बचतकर्ताहरुलाई ६ महिना भित्र आफ्नो नाममा रहेको सम्पत्ति बेचेर भएपनि बचत फिर्ता गर्ने आश्वासन दिएका थिए । तर, आश्वासन दिएको तीन दिनपछि (जेठ ५ गते) स्थानीय प्रहरीलाई ज्यान र सम्पत्ति रक्षाको लागि निवेदन पेश गरी उनी सम्पर्कविहिन बने ।

अध्यक्ष नेपाली सम्पर्कविहिन हुँदाको दिन जेठ ५ गते दिनभर जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीसँगै थिए । सोही दिन साँझ डिएसपी केसी बागलुङ हिँडेपछि अध्यक्ष नेपाली मोबाईल स्विच अफ गरी सम्पर्कविहिन बनेको स्रोतको दाबी छ । प्रहरी प्रमुखसँग दिनभरको बसाईंपछि अध्यक्ष नेपाली सम्पर्कविहिन हुनुले राजनीतिक नेतृत्व र प्रहरी प्रशासनको मिलेमतो भएको प्रष्ट हुन्छ । 

नेपाली अध्यक्ष मात्र नभई ढोरपाटन नगरपालिकाका मेयर समेत रहेकोले उक्त घटनालाई रहस्यमय बनाएको छ । अध्यक्ष नेपाली ७३ दिनदेखि बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरी सम्पर्कविहिन छन् । 

१५ सय बढी बचतकर्ताले २ अर्बभन्दा बढी रकमको माग दाबीसहित जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालयमार्फत सहकारी सञ्चालक र कर्मचारीलाई जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

बागलुङ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको एकल इजालसले सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र लेखा अधिकृत लालमती रोकालाई पुर्पक्षको लागि कारागार चलान गरिसकेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फरार सूचीमा रहेका अध्यक्ष नेपाली लगायत ८ जना सञ्चालक र कर्मचारीलाई खोजीकार्य जारी राखेको छ ।

अध्यक्ष नेपाली सम्पर्कविहिन बने लगत्तै संस्थाबाट पीडित बनेका सदस्यहरुको बचत फिर्ताको लागि पहल गर्न संर्घष समिति गठन गरियो । डिल बहादुर कार्कीको संयोजकत्वमा संर्घष समिति बनाईएको थियो । पीडित संघर्ष समितिका संयोजक कार्की एमालेका नेता हुन् ।

एमालेका नेतालाई नै संयोजक बनाउनुको भित्रि कारण पनि अध्यक्ष नेपालीलाई राजनीतिक संरक्षणसहित उन्मुक्ति दिन खोजिएको प्रष्ट हुन्छ । जबकी संयोजक कार्की आफै पीडित भने होईनन् । कार्की सहकारी पीडित भएको जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीमा कतै देखिदैन । संयोजक कार्की गत स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट काठेखोला गाउँपालिकाका अध्यक्षको उम्मेदवार बनेका थिए ।

त्यस्तै इमेज सहकारी गलकोट सेवा केन्द्र पीडित संर्घष समितिका संयोजक पनि एमालेलाई नै बनाएको छ । संयोजक मञ्जु चालिसे नेकपा एमालेका नेतृ हुन् । उनी गत निर्वाचनमा नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेलसँग पराजित भएकी थिईन । त्यस्तै बुर्तिवाङ सेवा केन्द्रका संयोजक पनि लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय कार्यकर्ता रहेको बुझिएको छ ।

अध्यक्ष नेपाली एमाले हुनु र संघर्ष समितिका संयोजकहरु पनि एमालेका नेतालाई बनाउनुले यस भित्र राजनीति संरक्षण रहेको प्रष्ट हुन्छ । संस्थाबाट पीडित बनेका आम सर्वसाधारण बचतकर्ताको समयमै बचत फिर्ता हुनेमा आशंका समेत उब्जाएको छ । सर्वसाधरण बचतकर्ताको बचत जोखिममा पारेर अध्यक्ष नेपालीलाई एमालेले उन्मुक्ती दिन खोजिएको बचतकर्ताहरुको आरोप छ ।

झण्डै साढे २ महिना बितिसक्दा पनि अध्यक्ष नेपालीलाई पक्राउ परेका छैनन् । अध्यक्ष नेपाली पक्राउ नपर्नुमा राजनीतिक संरक्षण रहेको प्रष्ट हुन्छ । यही बीचमा इमेज पीडित संर्घष समितिका अध्यक्ष डिलबहादुर कार्की सिंगापुर जाने तयारीमा छन् । कार्कीले सामाजिक सञ्जालमार्फत केही दिनको लागि विदेश भ्रमणमा रहने र पार्टी तथा सामाजिक गतिविधिहरुमा सहभागि हुन नसक्ने स्टाटस लेखेका छन् । संयोजक कार्की विदेश भ्रमण जान लाग्नुले पनि अनेक आशंका जन्माएको छ । कतै अध्यक्ष नेपालीलाई भेट्न जान लागेका त हैन? भन्ने समेत प्रश्नहरु उब्जिएको छ । 

Advertisment

थप समाचार