काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले नियम विपरित व्यवस्थापन प्रमुख (प्रमुख कार्यकारी अधिकृत) नियुक्त गरेको छ । मंगलबार बसेको नेफ्स्कून बोर्ड बैठकले नियम विपरित प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्तिको निर्णय गरेको हो । उक्त बैठकले नेफ्स्कूनका पूर्व सिईओ शिवजी सापकोटालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको थियो ।
नेफ्स्कूनको आर्थिक तथा प्रशासन नीति २०७७ अनुसार सञ्चालक समितिले सोझै सिईओ नियुक्त गर्न सक्दैन । सिईओ नियुक्तिका लागि खुला प्रतिस्पर्धामा जानुपर्दछ । प्रारम्भिक संस्थाहरुलाई सुशासनको पाठ पढाएर कहिल्यै नथाक्ने अभिभावक संघ नेफ्स्कूनले भने कथनी र करनीमा स्पष्ट विभेद गरेको छ । नेफ्स्कून बोर्डले नीति विपरित बिना प्रतिस्पर्धा सापकोटालाई सिईओ नियुक्त गरेको हो ।
अघिल्लो पटक भने सिईओ नियुक्तिका लागि नेफ्स्कूलने खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको थियो । उक्त प्रतिस्पर्धामा समेत सहभागी भएका सापकोटा अनुतिर्ण भएका थिए । त्यसबखत प्रतिस्पर्धामा सहभागी सबै अनुतिर्ण भएपछि बोर्डले बरिष्ठतम कर्मचारी प्रकाश प्रसाद पोखरेललाई सिईओको जिम्मेवारी दिएको थियो । बोर्डको उक्त निर्णय संघको नीति संगत रहेको थियो तर यसपटक भने नीतिलाई बेवास्ता गर्दै सापकोटालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।
नेफ्स्कूनको नीति अनुसार संघमा कार्यरत कर्मचारीको हकमा भने योग्यता र बरिष्ठतम्को आधारमा आन्तरिक रुपमै सिईओ नियुक्त गर्न सकिन्छ । त्यसैका लागि संघका बरिष्ठतम कर्मचारी सञ्जयराज तिमिल्सिनालाई व्यवस्थापन प्रमुखको जिम्मेवारी दिइएको थियो । नेफ्स्कून बोर्ड भित्रै कतिपय सञ्चालकहरु तिमिल्सिनालाई नै प्रमुख कार्यकारी अधिकृत बनाएर लानुपर्ने अडानमा थिए । तर, नेफ्स्कूनले कुनै पनि प्रकृया विना नै बाहिरी व्यक्तिलाई सोझै सिईओ नियुक्ती गरेको हो ।
सापकोटालाई ४ वर्षको लागि नियुक्त गरिएको हो । संघले नवनियुक्त सिईओ सापकोटालाई इमेलमार्फत आज जानकारी पठाएको छ । नयाँ सिईओ नियुक्ती नीति अनुसार नै भएको संघका अध्यक्ष परितोष पौड्यालले दाबी गरे ।
Advertisment