काठमाडौं : अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १८ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ बराबर १ को अनुपातमा १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
जस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। उक्त हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो। जस अनुसार साउन २५ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर असोज ७ गतेसम्म आवेदन दिन सकिनेछ।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । सनराइज क्यापिटलले शेयर निष्कासनको जिम्मा पाएसँगै स्थानीयवासीको हकमा अनिवार्य डिम्याट खाता खोल्न आग्रह गरेसँगै शेयर निष्कासनमा केही ढिलाइ भएको थियो ।
जिल्लास्थित स्थानीय राजनीतिक दल र अन्य सरोकारवालाको दबाबमा अब स्थानीयवासीहरूले डिम्याट खाता नभए पनि हकप्रद सेयर भर्न पाउने प्रावधान बनाएको छ । कम्पनीले दोस्रो चरणमा निर्माण लक्ष्य लिएको रोल्वालिङ खोला जलविद्युत् आयोजनाका लागि माथिल्लो तामाकोशीमा शेयर लगानी गरेका साविककै लगानीकर्ताहरूबाट १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद शेयरको माध्यमबाट रकम सङ्कलन गरी वित्तीय व्यवस्थापन गर्न लागेको हो । हिजो मात्रै रोल्वालिङ खोला जलविद्युत् आयोजनाका लागि माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेड र एनइएसीइबीच सम्झौता भएको छ ।
Advertisment