३५ अर्ब बजेट खर्च हुँदा राजस्व संकलन ८८ अर्ब

३५ अर्ब  बजेट खर्च हुँदा राजस्व संकलन ८८ अर्ब

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले वार्षिक विनियोजनको दुई दशमलव एक प्रतिशत बजेट खर्च गरेको छ भने करिब छ प्रतिशत राजस्व सङ्कलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार साउन मसान्तसम्ममा सरकारले ३५ अर्ब १७ करोड ९० लाख बराबर बजेट खर्च गरेको छ । यही अवधिमा सरकारको राजस्व सङ्कलन ८८ अर्ब १३ करोड ९० लाख बराबर छ।

Sponsored Advertisement

चालु आर्थिक वर्षमा सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । जसमध्ये चालुतर्फ नौ खर्ब ४९ अर्ब ३३ करोड ५६ लाख, पूँजीगततर्फ चार खर्ब ७१ अर्ब छ करोड ५८ लाख र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ३० अर्ब ९१ करोड सात लाख बराबर बजेट छुट्याइएको थियो।

साउन मसान्तसम्ममा चालुतर्फ १२ अर्ब १९ करोड १७ लाख अर्थात् वार्षिक लक्ष्यको एक दशमलव २८ प्रतिशत र पूँजीगततर्फ ९० करोड ६१ लाख अर्थात् वार्षिक लक्ष्यको शून्य दशमलव १९ प्रतिशत बराबर खर्च भएको छ । यो अवधिमा चालु र पूँजीगत शीर्षकमा भएको भन्दा वित्तीय व्यवस्थामा भएको बजेट खर्च धेरै छ । साउनमा सरकारले वित्तीय व्यवस्थातर्फ २२ अर्ब सात करोड ८१ लाख बराबर खर्च गरेको छ । जुन वित्तीय व्यवस्थातर्फको वार्षिक लक्ष्यको ६ दशमलव ६७ प्रतिशत बराबर हो । 
    
त्यस्तै चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलनमा कर राजस्वतर्फ ७० अर्ब १७ करोड ५२ लाख अर्थात् वार्षिक लक्ष्यको पाँच दशमलव ३८ प्रतिशत र गैरकर राजस्वतर्फ आठ अर्ब ६९ करोड ८९ लाख बराबर अर्थात् वार्षिक लक्ष्यको सात दशलमव ४३ प्रतिशत बराबर सङ्कलन भएको छ । महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार सरकारले साउन महिनामा वैदेशिक अनुदान भने उठाएको देखिँदैन।