Below Menu
Below Menu

साढे तीन अर्ब लागतमा १० होटल थपिदै, कहाँ–कहाँ बन्दैछन् ?  

साढे तीन अर्ब लागतमा १० होटल थपिदै, कहाँ–कहाँ बन्दैछन् ?  

काठमाडौं : साढे तीन अर्ब रुपैयाँ लगानीमा १० होटल बन्ने भएका छन् । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा पर्यटन क्षेत्रका लागि ३ अर्ब ७८ करोड १८ लाख ८७ हजार रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको हो ।

विभागका अनुसार सो लगानीमध्ये १० वटा होटलका लागि रहेको छ भने एउटा ट्राभल एण्ड एडभेन्चरका लागि रहेको छ । पर्यटन क्षेत्रमा लागि आएको उक्त लगानीमा म्याग्दीमा बन्न लागेको ग्लोबल ट्राभल एण्ड एडभेन्चरका लागि एक करोड रुपैयाँ प्रस्ताव गरिएको छ ।

त्यसैगरी, माइन्डफुल इसकेप्स एण्ड रिसोर्टका लागि २० करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ । गोरखामा बन्न लागेको उक्त रिसोर्टमा होटलको बेड ६५ वटा र रेष्टुरेन्टको सिट ६० रहनेछ । उक्त रिसोर्टमा ५५ जनाले रोजगारी पाउने भएका छन् ।

त्यस्तै, ललितपुरमा बन्न लागेको रेमनान्ट होटल प्रालिमा रेष्टुरेन्ट सिट ५५ रहेको छ भने होटलको बेड २० वटा रहनेछ । उक्त होटलका लागि ५ करोड रुपैयाँ लगानी रहेको छ । ५२ जनाले रोजगारी पाउनेछन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा २०० बेडको होटल बुद्ध स्टार प्रालि निर्माण हुने भएको छ । एक अर्ब ८५ करोड ४३ लाख रुपैयाँ लगानीमा बन्ने सो होटलमा ब्याक्वेट हल ५०० सिटको रहने छ भने रेष्टुरेन्ट सिट १२० रहेको छ । उक्त होटलमा १०३ जनाले रोजगारी पाउने जनाइएको छ ।

विभागका अनुसार पोखरामा वाटफोर्ड होटल म्यानेजमेन्ट र एल बोकाइतो स्पानोल होटल एण्ड रेष्टुरेन्ट गरी दुई वटा होटल बन्ने भएका छन् । दुई करोड रुपैयाँ लागतमा एल बोकाइतो स्पानोल होटल एण्ड रेष्टुरेन्ट बन्ने भएको छ । ५४ जनालाई रोजगारी दिनेगरी बन्न लागेको सो होटलको बेडसिट २० र रेष्टुरेन्ट सिट ३५ रहेको छ ।

त्यस्तै, अर्को वाटफोर्ड होटल म्यानेजमेन्टका लागि एक अर्ब १६ करोड ७५ लाख ८७ हजार रुपैयाँ लगानी प्रस्ताव आएको छ । सो होटलमा ७९ जनाले रोजगारी पाउने भएका छन् भने होटलबो बेड सिट ९२ र रेष्टुरेन्ट सिट २०० रहेको छ ।

यस अवधिमा काठमाडौमा मात्र चार वटा होटल निर्माण हुने भएका छन् । होटल सेकाइमा ५१ जनाले रोजगारी पाउने भएका छन् । उक्त होटल बेड संख्या २२ रेष्टुरेन्ट सिट ६० रहेको छ भने लागत चार करोड रुपैयाँ रहेको छ । त्यस्तै, अर्को ३२ बेड सहितको डिज बुटिक होटल बन्ने भएको छ । होटलको लागत २० करोड रुपैयाँ रहेको छ । रेष्टुरेन्टको सिट संख्या १०० रहेको छ भने ५० जनाले रोजगारी पाउने भएका छन् ।

त्यसैगरी दुई करोड रुपैयाँ लगानीमा काठमाडौमा २० बेडको गोल्डेनजिन होटल प्रालि बन्ने भएको छ । सो होटलमा १७ जनाले रोजगारी पाउने भएका छन् । काठमाडौंमा नै बन्न लागेको १० करोड लागतको सिवङ्ग झि रेष्टुरेन्टमा ६० जनाले रोजगारी पाउनेछन् । होटल बेड संख्या २२ र रेष्टुरेन्ट सिट ६० रहेको छ ।

विभागका अनुसार यस अवधिमा दाङमा बन्न लागेको होटल पौवाका लागि १२ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ । सो होटलको बेड ४९ एनओएस र रेष्टुरेन्ट १०० एनओएस रहेको छ । १७ जनाले रोजगारी पाउनेछन् ।

आर्थिक मन्दीले घट्यो ८७.३१ प्रतिशत लगानी

चालु आर्थिक वर्षको भदौ महिनामा उद्योग क्षेत्रका लागि ४ अर्ब ९९ करोड १३ लाख ३६ हजार रुपैयाँ लगानी प्रस्ताव आएको छ । यस अवधिमा २४ उद्योगका लागि सो बराबरको लगानी प्रस्ताव आएको हो । उक्त लगानी गत आवको सोही अवधिको तुलनामा ८७.३१ प्रतिशतले कम हो ।

विभागका अनुसार गत आवमा ४६ वटा उद्योगका लागि ३४ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको हो । चालु आवको भदौ महिनामा सेवामुलक क्षेत्रका लागि २७ करोड ३५ लाख रुपैयाँ र निर्माण क्षेत्रका उद्योगका लागि ९१ करोड ५९ लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ ।

जलविद्युत क्षेत्रको लगानी शुन्य

विभागका अनुसार भदौ महिनामा जलविद्युत क्षेत्रको लगानी शुल्य रहेको छ । गत साउन महिनामा जलविद्युत्त क्षेत्रका तीन उद्योगका लागि १७ अर्ब ८४ करोड ९६ लाख ३७ हजार रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको थियो । तर, भदौमा भने उक्त क्षेत्रको लागनी शुन्य रहेको छ । 
 

Advertisment

थप समाचार