Below Menu
Below Menu

आईपीओदेखि हकप्रद जारी गर्नेसम्मका एजेन्डासहित पाँच कम्पनीले बोलाए साधारणसभा 

आईपीओदेखि हकप्रद जारी गर्नेसम्मका एजेन्डासहित पाँच कम्पनीले बोलाए साधारणसभा 

काठमाडौं :  विभिन्न पाँच कम्पनीले साधारणसभा बोलाएका छन् । कम्पनीहरुले लाभांश, मर्जर हकप्रद जारी गर्ने प्रस्तावदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने लगायतका एजेन्डा सहित साधारणसभा गर्न लागेका हुन् । लाभांशर हकप्रद जारी गर्ने घोषणा गरेका कम्पनीहरुले बुक क्लोजको मिति समेत तय गरिसकेका छन् । 

काबेली हाइड्रोपावर

काबेली हाइड्रोपावर कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीको दोस्रो वार्षिक साधारणसभा असोज २४ गते बुधबार बिहान १० बजे कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा हुनेछ ।

सो सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १७ गते एकदिनका लाई शेयरधनी किताब खाता (बुक क्लोज) गर्ने भएको छ । जसअनुसार असोज १६ गतेसम्म नेप्सेमा कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन् ।

शिव श्री हाइड्रोपावर

शिव श्री हाइड्रोपावरले असोज २५ गते, बिहीबार सभा बोलाएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । सो सभा यती इभेन्ट्स एण्ड कन्फेरेन्स सेन्टर, जेलिङ कम्प्लेक्स, बसुन्धारा, काठमाडौमा बिहान ११ बजे हुनेछ ।

उक्त सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको ठेगाना परिवर्तन गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार असोज १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन् ऽ

माउण्ट कैलाश इनर्जी

माउण्ट कैलाश इनर्जी कम्पनीको भदौ ८ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सातौं र आठौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभा असोज २४ गते क्वालिटी क्याफे एण्ड ब्याङ्केट, ठूलो भर्याङ स्वयम्भू काठमाडौंमा बिहान ११ बजेदेखि हुनेछ । सो सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको गत आर्थिक वर्षको वित्तीय विवरणहरु छलफल गर्नेछ ।

यसका साथै सञ्चालक समितिको सदस्यहरुको संरचना परिवर्तन गर्ने, पूँजी संरचना परिवर्तन गर्ने, सार्वजनिक शेयर (आईपीओ) जारी गरी पूँजी वृद्धि गर्ने र आईपीओ निष्कासन गर्न सञ्चालक समितिलार्ई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

फेडेरल रि-इन्स्योरेन्स ब्रोकर

फेडेरल रि-इन्स्योरेन्स ब्रोकर कम्पनीले असोज २५ गते बिहिबार साधारणसभा बोलाएको छ । भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको दोस्रो वार्षिक साधारण सभ ागर्न लागेको हो ।

उक्त सभा सो दिन बिहान १० बजे कम्पनीको रजिष्टर्ड कार्यालय नक्सालमा हुनेछ । उक्त सभाले गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतको लेखापरिक्षण प्रतिवेदन माथि छलफल गर्नेछ ।

यसका साथै सभाले कम्पनीको साविकको प्रबन्धपत्रमा उद्देश्य थप तथा संशोधन गर्ने नियमावलीमा आवश्यक संशोधन तथा थप गर्ने, सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने, कम्पनी गाभ्ने वा गाभिने सम्बन्धमा र विदेशी साझेदार वा लगानीकर्ता भित्र्याउने लगायतका सम्बन्धमा छलफल गर्नेछ ।

सानिमा सेक्युरिटिज

सानिमा सेक्युरिटिज लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रथम वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभा असोज २६ गते कम्पनीको रजिष्टर्ड कार्यालय पुतली सडक काठमाडौंमा बिहान ११ बजे हुनेछ । उक्त सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न लागेको करसहितको २.५ प्रतिशतका दरले हुन आउने ५० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सो सभाले प्रबन्धपत्रमा अन्य कम्पनीको शेयर डिबेन्चर, बन्ड, म्युचुअल फण्ड आदिमा लागनी गर्ने सम्बन्धमा उद्देश्यमा थप गर्ने प्रबन्धपत्रको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुुनै फेरबदल सुझाव भएमा सो अन्ुसार आवश्यक फेरबदल गर्न  सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्नेछ ।

Advertisment

थप समाचार