काठमाडौं : पछिल्लो समय अर्थतन्त्रमा बीमा उद्योगको योगदानको हिस्सा बढ्दै गएको देखिएको छ । नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांक हेर्ने हो भने राष्ट्रिय अर्थतन्त्रमा बीमा उद्योगबाट साढे ६ खर्ब रुपैयाँभन्दा बढी लगानी भएको पाइएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथौ त्रैमास अनुसार बीमा उद्योगबाट विभिन्न क्षेत्रमा ६ खर्ब ५८ अर्ब ९३ करोड १८ लाख रुपैयाँ बराबरको लगानी भएको छ । जसमा सर्वाधिक लगानी जीवन बीमा कम्पनीको रहेको छ । जीवन बीमा कम्पनीहरुले यस अवधिमा विधिन्न क्षेत्रमा ५ खर्ब ६८ अर्ब १४ करोड ६८ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुको कूल लगानी ५८ अर्ब ८५ करोड ८५ लाख रुपैयाँ, दुई पुनर्बीमा कम्पनीको लगानी २९ अर्ब ९७ करोड ६१ लाख रुपैयाँ रहेको छ । प्राधिकरणका अनुसार हालै मात्र सञ्चालनमा आएका लघु जीवन बीमकले १ अर्ब १ करोड ६३ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेका छन् भने लघु निर्जीवन बीमकले ९३ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् ।
बीमा उद्योगको अधिकांश लगानी कृषि उत्पादन, शित भण्डार, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा, नविकरण उर्जा परियोजना, केबल कार, सडक, जलविद्युत प्रशारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेको छ ।
त्यस्तै, लगानीका अन्य क्षेत्रहरुमा सरकारको बचतपत्र तथा ऋणपत्र, बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप, घरजगा, शेयरबजार, डिबेञ्चर, नागरिक लगानी कोष र म्युचुअल फण्ड, इन्भेष्मेन्ट कम्पनीको शेयर लगायत अन्य कम्पनीहरु रहेका छन् ।
बीमामा पहुँच भएको जनसंख्याको प्रतिशत बढ्दै जाँदा अर्थतन्त्रमा बीमा उद्योगको योगदानको हिस्सा पनि बढ्दै गएको प्राधिकरणले जनाएको छ । लगानीमा विविधतामार्फत् अर्थतन्त्रमा योगदान बढाउन प्राधिकरणले दबाब दिइरहेके छ भने अधिकांश बीमा कम्पनीहरु अझै पनि जोखिम लिन हिच्किचाई रहेका छन् ।
प्राधिकरणको निर्देशन अनुसार केही बीमकहरुले भने उत्पादनमुलक क्षेत्रमा लगानी बढाउँदै गएका छन् । बीमकले कूल लगानीको अधिकत्तम १० प्रतिशत रकम कृषि उत्पादन, शित भण्डार, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा, नविकरण उर्जा परियोजना, केबल कार, सडक, जलविद्युत प्रशारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न सक्ने प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय प्राथमिकतामा राखेका यी क्षेत्रहरुमा जीवन बीमकको लगानी ६ अर्ब ५९ करोड ४ लाख रुपैयाँ रहेको छ भने निर्जीवन बीमकको लगानी ४१ करोड ४६ लाख ७८ हजार रुपैयाँ रहेको छ । उक्त क्षेत्रका लागि निर्जीवन बीमकमध्ये शिखर इन्स्योरेन्स, प्रभु, एनएलजी, सानिमा जिआईसी, सिद्धार्थ प्रिमियर, सगरमाथा लुम्बिनी र आईजीआई प्रुडेन्सियलको लगानी रहेको छ ।
त्यस्तै, जीवन बीमकमध्ये सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान, निजी क्षेत्रको एशियन लाईफ इन्स्योरेन्सले मात्र सर्वाधिक लगानी गरेका छन् भने नेपाल लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ र प्रभु लाइफ र सानिमा रिलायन्स लाइफको पनि केही प्रतिशत लगानी रहेको छ ।
उक्त क्षेत्रमा राष्ट्रिय बीमा संस्थानले सर्वाधिक ४ अर्ब ८७ करोड १७ लाख रुपैया, एशियन लाईफ इन्स्योरेन्सले १ अर्ब ४४ करोड २० लाख रुपैयाँ लगाी गरेको छ भने निर्जीवन जीवन बीमकमध्येसर्वाधिक लगानी गरेको शिखर इन्स्योरेन्सको रहेको छ । उक्त कम्पनीले सो क्षेत्रमा २२ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ ।
Advertisment