काठमाडौं : एक महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे १९ अर्ब रुपैयाँले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले गत भदौ महिनाको तुलनामा असोजमा १९ अर्ब ६७ करोड १८ लाख रुपैयाँले व्यवसाय बढाएका हुन् ।
असोज मसान्तसम्म बीमा कम्पनीहरुले एक करोड तीन लाख ६४ हजार ८५० बीमालेख बिक्री गरी ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । उक्त बीमाशुल्क गत भदौ मसान्तको तुलनामा ९३.०९ प्रतिशतले बढी हो ।
जबकी गत भदौ मसान्तसम्म कम्पनीहरुले एक करोड ३४ लाख ५१ हजार बीमालेख बिक्री गरी २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।
प्राधिकरणका अनुसार यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योयरेन्स रहेको छ । कम्पनीले यस अवधिमा ११ लाख ७० हजार ३९६ बीमालेख बिक्री गरी १० अर्ब ९५ करोड एक लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।
एक महिना उठाए साढे ११ अर्ब बीमाशुल्क
कम्पनीहरुले चालु आवको असोज महिनामा मात्रै साढे ११ अर्ब रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले नौं लाख १६ हजार ९३ बीमालेख बिक्री गरी ११ अर्ब ६७ करोड १७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।
जबकी गत भदौ महिनामा बीमा कम्पनीहरुले आठ लाख १५ हजार ३६६ बीमालेख बिक्री गरी ९ अर्ब ५२ करोड ३४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका थिए ।
सन नेपाल लाइफ अझै पुगेन अर्ब क्लबमा
प्राधिकरणको तथ्यांक अनुसार असोज मसान्तसम्ममा अधिकांश बीमा कम्पनीहरुले अर्ब भन्दाबढीको व्यापार गरेका छन् । तर, सन नेपाल लाइफ इन्स्योरेन्सको व्यवसाय भने बढ्न सकेको छैन । यस अवधिमा कम्पनीले इन्स्योरेन्सले ९ लाख ७४ हजार ६५६ बीमालेख बिक्री गरी ८८ करोड ६४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
पाँच कम्पनीको व्यवसाय चार अर्ब माथि
असोज मसान्त अर्थात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आइपुग्दा चार बीमा कम्पनीहरुले चार अर्ब भन्दा माथिको व्यवसाय गरेका छन् । यस अवधिमा राष्ट्रिय बीमा संस्थानले ५ लाख ५९ हजार ६४३ बीमालेख बिक्री गरी चार अर्ब ५ करोड ६० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
त्यस्तै, नेशनल लाइफले १५ लाख ७५ हजार ४७६ बीमालेख जारी गरी चार अर्ब १९ करोड २६ लाख रुपैयाँ बीमाशुृल्क संकलन गरेको छ भने लाइफ इन्स्योरेन्स कम्पनीले पनि चार अर्ब ५० करोड ७८ लाख र हिमालयन लाइफ इन्स्योरेन्सले ४ अर्ब ३८ करोड ४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको हो ।
अन्य कम्पनीको व्यवसाय
असोज मसान्तसम्म मेट लाइफले एक अर्ब ३६ करोड ६७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, एशियन लाइफले एक अर्ब ८६ करोड ९० लाख, आईएमई लाइफले एक अर्ब १० करोड २ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले एक अर्ब एक करोड २८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।
प्राधिकरणका अनुसार यस अवधिमा सिटिजन लाइफले एक अर्ब ५० करोड ४५ लाख रुपैयाँ, सूर्यज्योति लाइफले दुई अर्ब ३० करोड ४६ लाख रुपैयाँ सानिमा रिलायन्स लाइफले एक अर्ब ५१ करोड ८६ लाख रुपैयाँ र प्रभु महालइमी लाइफले एक अर्ब १५ करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
लघुबीमाको व्यवसाय ३० लाख नाघ्यो
प्राधिकरणबाट भर्खरै लाइसेन्स पाएर व्यवसाय शुरु गरेका दुई लघुबीमा कम्पनीहरुले ३० लाख ७० हजार रुपैयाँको व्यवसाय गरेका छन् । यस अवधिमा गार्डियन माइक्रो लाइफले एक हजार ७४१ बीमालेख जारी गरी १९ लाख ३१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने केष्ट माइक्रो लाइफले ९९० बीमालेख जारी गरी ११ लाख ७० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
Advertisment