Below Menu
Below Menu

जाजरकोट भुकम्प पिडितका लागि हालसम्म ४५ करोड माथि सहयोग 

जाजरकोट भुकम्प पिडितका लागि हालसम्म ४५ करोड माथि सहयोग 

काठमाडौं : जाजरकोट लगायतका तीन जिल्लामा शुक्रबार राति गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिपछि त्यस क्षेत्रका लागि सहयोग जुट्न सुरु भएको छ । विभिन्न कम्पनी तथा सङ्घ संस्थाले भूकम्प पीडितलाई सहयोग रकम घोषणा गर्न सुरु गरेका छन् ।

सरकारले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई केन्द्रीय राहत व्यवस्थापन कोषबाट तत्काल पाँच/पाँच करोड आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ । यसका साथै सरकारले भूकम्पमा परी मृत्यु भएका व्यक्तिका प्रतिपरिवारलाई दुई लाखका दरले राहत दिने निर्णय गरेको छ । 

सरकारले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई केन्द्रीय राहत व्यवस्थापन कोषबाट तत्काल पाँच–पाँच करोड उपलब्ध गराउने निर्णय गरेको छ । 

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ । शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि हालसम्म विभिन्न संघसंस्था र व्यक्तिले ४५ करोड भन्दाबढी सहयोग प्रतिबद्धता जनाएका हुन् ।

निजी क्षेत्रको ठूलो वायु सेवा कम्पनी बुध्द एयरले भूकम्पपीडितका लागि एक करोड आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले पनि भूकम्पपीडितलाई ५० लाख सहयोग गर्ने भएको छ । सो रकम कर्णाली प्रदेशको मुख्यमन्त्री राहतकोषमा जम्मा गर्ने निर्णय गरिएको छ । यसका साथै एनसेलले भूकम्प प्रभावित क्षेत्रमा रु ४० लाख बराबरको ‘भ्वाइस’ र ‘डाटा’ निःशुल्क गर्ने पनि निर्णय गरेको छ ।

गैरआवासीय नेपाल संघ (एनआरएनए)का अध्यक्ष बद्री केसी नेतृत्वको कार्यसमितिले पनि भूकम्पपीडितलाई रु १० लाख उपलब्ध गराउने घोषणा गरेको छ । त्यसैगरी आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले २१ लाख सहयोग गर्ने भएको छ ।

त्यसैगरी, चीनले दश करोडका सहायता सामग्री उपलब्ध गराउने चीनको घोषणा गरेको छ । नेपाल पर्वतारोहण संघले भूकम्प पीडितलाई सहयोग पु¥याउने उद्देश्यले ३१ लाख ११ हजार एक सय ११ सहयोग गर्ने निर्णय गरेको छ ।

भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि एक करोड, नेपाल बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन) ले १० लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारले एक करोड र घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि रु १५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिकतर्फका कर्मचारी गरी एक हजार तीन सय ६६ जनाको एक दिनको तलब कटाएर भूकम्प पीडितलाई प्रदान गर्न लागेको हो ।

यसैबीच नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले भूकम्प पीडितका लागि पाँच लाख ७० हजार उपलब्ध गराउने निर्णय गरेको छ । बागलुङका स्थानीय तहले एकमुष्ट ३० लाख राहत रकम प्रदान गर्ने भएका छन् । चार नगरपालिकाले रु तीन लाख ७५ हजार र छ गाउँपालिकाले रु दुई लाख ५० हजार सहयोग गर्ने निर्णय भएको हो ।

त्यसैगरी, लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड र बारबर्दिया नगरपालिकाले भूकम्प प्रभावितका लागि पाँच लाख २५ हजार आर्थिक सहयोगगर्ते भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले भूकम्पपीडितलाई रु एक करोड राहत सहयोग गर्ने निर्णय गरेको छ ।

भूकम्पपीडितलाई सहयोग स्वरुप एक करोड सहयोग गर्ने र नेपालगञ्ज, सुर्खेत, रुकुम सल्ले तथा चौरजहारी विमानस्थलबाट राहतका लागि प्रयोग हुने विमानको शुल्कमा सतप्रतिशत छुट दिने निर्णय पनि प्राधिकरणले गरेको छ ।

उपत्यका मेयर्स फोरमले २५ लाख सहयोग गर्ने भएको छ । ललितपुर महानगरपालिका ललितपुरको उपत्यका मेयर्स फोरमको आकस्मिक बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि रु २५ लाख सहयोग गर्ने निर्णय गरेको फोरमका महासचिव एवं चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए ।

नेकपा (एमाले) बाट गण्डकी प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्यले एक हप्ता बराबरको तलब भूकम्पपीडितलाई प्रदान गर्ने भएका छन् । भारत सरकारले जाजरकोट भूकम्पपीडितका लागि रु १६ करोड बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ ।

ग्लोबल आइएमई बैंक, आइजिआई प्रुरुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायत आइएमई ग्रुपबाट प्रवर्दित कम्पनी तथा आइएमई फाउन्डेसनमार्फत भूकम्पपीडितका लागि एक करोड ५० लाख नगद र भाटभटेनी सुपर मार्केटले १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरिने भएको छ ।

गोदावरी नगरपालिकाले भूकम्पपीडितलाई २५ लाख, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रका लागि रु दुई लाख र सिन्धुपाल्चोकका तीनवटा स्थानीय तहले जाजरकोट भूकम्पपीडितलाई ३५ लाख सहयोग गर्ने निर्णय गरेका छन् । बाह्रबिसे नगरपालिकाले रु १५ लाख, भोटेकोशी गाउँपालिकाले रु १० लाख र त्रिपुरासुन्दरी गाउँपालिकाले रु १० लाख सहयोगस्वरुप प्रदान गर्ने निर्णय गरेका हुन्

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । त्यसैगरी, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब भूकम्पपीडित प्रदान गर्ने घोषणा गरेका छन् । गण्डकी प्रदेशसभा सदस्य डिल्लाराम सुवेदीले एक महिनाको पारिश्रमिक भूकम्पप्रभावित क्षेत्रमा सहयोग गर्ने भएका छन् ।

कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारी कोषमा एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् भने नेपाल क्रिकेट संघ (क्यान)ले  आईसीसी विश्वकप टी–२० को एसिया छनोटअन्तर्गत आइतबार भएको फाइनल खेलको टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत भूकम्पपीडितलाई प्रदान गर्ने भएको छ ।

त्यस्तै, पोखरा महानगरपालिकाले ५० लाख सहयोगको घोषणा गरेको छ । महानगरले जनप्रतिनिधिको एक महिनाको पारिश्रमिकबापतको १३ लाख १५ हजार र बाँकी विपद् कोषबाट व्यहोर्ने गरी ५० लाख बराबरको राहत सहयोग गर्न लागेको हो ।

त्यस्तै भोजपुरको पौवादुङमा गाउँपालिकाले दुई लाख, डोल्पाको ठूलीभेरी नगरपालिकाले पाँच लाख नगदसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने भएको छ । राप्रपाले पार्टीको तर्फबाट २५ लाख र संघीय तथा प्रदेशसभा सदस्यको एक महिनाबराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

त्यस्तै राप्रपा आँबुखैरेनी गाउँ कार्यसमितिले पार्टीका नेता तथा कार्यकर्ताबाट ४६ हजार १३५ रुपैयाँ संकलन गरेको छ । हालसम्म बैंक तथा वित्तीय संस्थामा सिटिजन्स बैंकले २५ लाख, एनआईसी एशिया बैंकले ५१ लाख र प्राइम कमर्सियल बैंकले २५ लाख ५१ हजार सहयोग गर्ने घोषणा गरेका हुन् ।

त्यसैगरी, नबिल बैंकले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतको लागि बैंकले एक करोड रुपैयाँ बराबरको राहत सामाग्री वितरण गर्ने निर्णय छ । 

ललितपुरको जावलाखेलमा जारी गोदावरी मेलामा आइतबार बिक्री हुने टिकटबाट संकलन भएको ५० प्रतिशत रकम जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई उपलब्ध गराइने भएको छ । नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा पाँच दिनका लागि सेवा निःशुल्क गर्ने भएको छ । 

Advertisment

थप समाचार