काठमाडौं : लामो समयदेखि खुलेर लगानी गर्न नसकेका बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी बढेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक हेर्दा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपसँगै कर्जा प्रवाहमा पनि विस्तार भएको पाइएको हो ।
गहिरिदो आर्थिक संकट र चर्को ब्याजदरका कारण बजारमा आर्थिक गतिविधिमा कमि आएपनि बैकिङ प्रणालीमा तरलता थुप्रिदै गएको थियो भने निक्षेप वृद्धिको तुलनामा कर्जा प्रस्वाह सुस्त थियो ।
बढ्दो ब्याजदरको कारण लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका छन् भने कर्जा लगानी हुन नसकेपछि बैकिङ प्रणालीमा पैसा थुप्रिदै गएको थियो ।
लामो समयदेखि निरन्तर थुप्रिदै गएको बैंक तथा वित्तीय संस्थाको निक्षेप यो साता भने घटेको छ । राष्ट्र बैंकका अनुसार गत आइतबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा चार अर्ब रुपैयाँ बराबरको निक्षेप थपिएको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी २ अर्ब रुपैयाँ रहेको छ ।
गत आइतबार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन चार अर्बले बढेर ५९ खर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिन अर्थात् कात्तिक १८ गते शनिबारसम्म बैंक तथा वित्तीय संस्थामा ५८ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।
बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब रुपैयाँले बढेरको छ । अन्य वित्तीय क्षेत्रमा ६ अर्ब ८६ करोड रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो दिनसम्म ५२ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा सो दिन ५ अर्ब निक्षेप बढेर ५२ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेसँगै कर्जा लगानी पनि बढेको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ४९ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ४४ खर्ब ५ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ५ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर र सिडि रेसियो पनि घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर ३.२२ प्रतिशत रहेको छ भने सिडि रेसियो ८१.५३ बिन्दुमा झरेको छ ।
तीन महिनामा वाणिज्य बैंकहरुले गरे सवा एक खर्ब लगानी
चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्म वाणिज्य बैंकहरुले सवा एक खर्ब कर्जा लगानी गरेका छन् । यस अवधिमा बैंकहरुले एक खर्ब १५ अर्ब २२ करोड ९५ लाख रुपैयाँ कर्जा लगानी गरेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए ।
सोमबार पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सोको जानकारी दिएका हुन् । उनका अनुसार गत असार मसान्तसम्म ४२ खर्ब ८४ अर्ब २७ करोड ९८ लाख रहेको कुल लगानी बढेर ४३ खर्व ९९ अर्ब ५० करोड ९३ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको कर्जा लगानी े ४.३० प्रतिशतले बढेको हो ।
लामो समयसम्म तरलता अभाव भोगेको नेपालको वित्तीय प्रणालीमा तरलता सहज हुँदै गएको छ । यसका साथै पछिल्लो समय ब्याजदर घटेका कारण पनि लगानी बढेको अध्यक्ष केसीको भनाई छ ।
बैंकहरुको नाफा २८ प्रतिशतले घट्यो
अध्यक्ष केसीका अनुसार असोज मसानत्सम्म आइपुग्दा बैंकहरुको नाफा २८ प्रतिशतले घटेको छ । बजारमा तरलता अभावका कारण वित्तीय संस्थाहरुले लामो समयसम्म खुलेर लगानी गर्न सकेनन् ।
पछिल्लो समय बैंकिङ प्रणालीमा थुपिदै गएको अधिक तरलताको कारण पनि बैंकहरुको नाफा भने अहिले उल्लेख्य मात्रामा घटेको उनले बताए । बैंकहरुको खुद ब्याज आम्दानी बढ्न नसक्दा नाफा घटेको उनको भनाई छ । यसका साथै लोन लस प्रोभिजनको कारण नाफा बढ्न नसकेको उनले बताए ।
चालु आवको पहिलो त्रैमासम्म वाणिज्य बैंकहरुको औसत खराब कर्जा ३.६१ प्रतिशत पुगेको छ । जुन असारसम्म २.९८ प्रतिशत मात्र रहेको थियो । खराब कर्जाको अनुपात बढे पनि घाटा बेहोर्नुपर्ने अवस्था भने नरहेको उनले जानकारी दिए । निजि क्षेत्रको व्यवसाय घट्दा बैकको नाफा घटेकाे उनको भनाई छ ।
Advertisment