काठमाडौं : चालु आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्म साढे तीन अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार गत साउन महिनादेखि यस अवधिमा २९ हजार १२० बीमितले तीन अर्ब ६४ करोड ८२ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका हुन् ।
गत साउन महिनाको तुलनामा भदौमा पोेलिसी सरेन्डर गर्नेको संख्या घटेपनि असोजमा फेरी बढेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । प्राधिकरणका अनुसार साउनमा १४ जीवन बीमा कम्पनीका ९ हजार ७९८ बीमितले एक अर्ब २८ करोड ३३ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका थिए ।
त्यस्तै, भदौमा उक्त संख्या घटेको थियो । यस अवधिमा ९ हजार ३८६ बीमितले एक अर्ब १८ करोड २० लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका थिए । असोज मसान्तसम्म आइपुग्दा यो संख्या बढेको छ । असोजमा ९ हजार ९३६ बीमितिले एक अर्ब १८ करोड २९ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् ।
मन्दीको सकसमा बीमा क्षेत्र
पछिल्लो समय आर्थिक मन्दीका कारण बीमा पोलिसी त्याग्नेहरुको संख्या बढेको बीमा कम्पनीको भनाई छ । यसका साथै अभिकर्ताहरुले बीमितको क्षमता भन्दा बढीको बीमा गराएका कारण प्रिमियम तिर्न नसकेर पोलिसी त्याग्ने गरेको बीमा विज्ञहरु बताउँछन् ।
बजारमा आर्थिक गतिविधि सुस्ताउँदा त्यसको असर बीमा क्षेत्रमा पनि देखिएको छ । पोलिसी त्यागेहरुको संख्या घटाउन प्राधिरकरण लिएका नीतिहरु पनि सफल हुन सकेका छैनन् । आर्थिक संकुचनका कारण सबै क्षेत्र सुस्ताउँदा मन्दीको सकसमा बीमा क्षेत्र पनि परेको छ ।
असोजमा नेपाल लाइफको सर्वाधिक पोलिसी सरेन्डर
प्राधिकरणका अनुसार असोज महिनामा नेपाल लाइफ इन्स्योरेन्सका बीमितिले सर्वाधिक पोलिसुी सरेन्डर गरेका छन् । यस अवधिमा उक्त कम्पनीका २ हजार ६४९ बीमितले ३८ करोड ९३ लाख ९९ हजार रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका हुन् । गत भदौमा यस कम्पनीका २ हजार ५४२ बीमितले ४० करोड २९ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका थिए ।
यस्तो छ अन्य कम्पनीको अवस्था
चालु आर्थिक वर्षको असोज महिनामा राष्ट्रिय बीमा संस्थानका एक हजार ६५ बीमितले ९ करोड ७१ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । गत भदौमा सो कम्पानीका एक हजार १३४ बीमितले ९ करोड ८१ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका थिए ।
त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नौं करोड ४९ लाख रुपैयाँ बराबरको ८४९ वटा, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको २६ करोड २ लाख रुपैयाँ बराबरको एक हजार ८१५ वटा बीमालेख सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, असोजमा मेट लाइफको तीन करोड ६७ लाख ४१ हजार रुपैयाँको ४०८ वटा, एशियन लाइफको ६ करोड ५१ लाख रुपैयाँ बराबरको ७५८ बीमालेख, आईएमई लाइफ इन्स्योरेन्सको एक करोड ५२ लाख नौं हजार रुपैयाँ बराबरको १६४ वटा र सन नेपाल लाइफको ७९ लाख ८० हजार रुपैयाँ बराबरको ७५ बीमालेख सरेन्डर भएका छन् ।
प्राधिकरणका अनुसार यस अवधिमा रिलायबल नेपाल लाइफका १६४ बीमितले ९५ लाख ६२ हजार रुपैयाँ बराबरको बीमा लेख सरेन्डर गरेका छन् भने सिटिजन लाइफ नेपालका २५६ बीमितले असोजमा एक करोड १४ लाख १८ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् ।
त्यसैगरी, सूर्यज्योति लाइफको आठ करोड ८५ लाख रुपैयाँ बराबरको ६२१ वटा, सानिमा रिलायन्स लाइफको एक करोड ६१ लाख रुपैयाँको १४३ वटा, हिमालयन लाइफको सात करोड ७७ लाख रुपैयाँ बराबरको ८५५ वटा र प्रभु महालक्ष्मी लाइफको एक करोड २६ लाख ८५ रुपैयाँ बराबरको ११४ बीमालेख सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
Advertisment