काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामासमेत ३ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले काभ्रेपलाञ्चोकको धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका लामासमेत ३ जना विरुद्ध भ्रष्टाचार आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार काभ्रेको भुम्लु गाउँपालिका वडा नं. ४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसमेतले हिसाब किताब नदेखाएको, समितिको साधारणसभा पनि नबसी आफू खुसी समूहको रकम खर्च गरी रकम हिनामिना गरेको भन्ने उजुरी परेको थियो ।
सोही निवेदन आधारमा अनुसन्धान गर्दा वनका अध्यक्ष लामा, सचिव संगिता चौलागाई र कोषाध्यक्ष माधवप्रसाद चौलागाईको आपसी मिलोमतोमा संयुक्त दस्तखतबाट उपभोक्ता समूहको बैंकमा रहेको खाताबाट रकम झिक्न लगाई नौ लाख १३ हजार २८० रुपैयाँ नब्बे पैसा भ्रष्टाचार गरेको आयोगको ठहर छ ।
आयोगले उनीहरु विरुद्ध कैद सजाय तथा जरिवाना र सोही रकम बराबरको बिगो मागदाबी गर्दै आयोगले मुद्दा दायर गरेको छ ।
Advertisment