Below Menu
Below Menu

निरन्तरको उतारचढावमा शेयर बजार, ८८.२४ प्रतिशतले घट्यो पुँजीगत लाभकर 

निरन्तरको उतारचढावमा शेयर बजार, ८८.२४ प्रतिशतले घट्यो पुँजीगत लाभकर 

काठमाडौं : सरकारले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म शेयर बजारबाट ८ करोड ४१ लाख रुपैयाँ बराबरको पुँजीगत लाभकर उठाएको छ ।

लगानीकर्ताले साउनदेखि कात्तिकसम्म सरकारलाई ८ करोड ४१ लाख ५४ हजार ५६६ रुपैयाँ बराबरको पुँजीगत लाभकर बुझाएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आयार्चले जानकारी दिए ।

सिडिएसका अनुसार गत आवको कात्तिक महिनाको तुलनामा सरकारले शेयर बजारमार्फत पाउने पुँजीगत लाभकर ८८.२४ प्रतिशतले घटेको छ । जबकी गत आवको सोही अवधिमा लगानीकर्ताहरुले सरकारलाई ७१ करोड ५८ लाख ५१ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएका थिए ।

लामो समयदेखि शेयर बजारमा आएको उतारचढावसँगै पुँजीगत लाभकर पनि घट्दै गएको सिडीएसका सिईओ आचार्य बताउँछन् । उनका अनुसार शेयर बजार घटेका कारण लगानीकर्ताहरुले मुनाफा आर्जन गर्न सकेका छैनन् भने कारोबार पनि घटिरहेको छ ।

शेयर बजार घटेसँगै त्यसको असर पूँजीगत लाभ परेको बताउँदै उनले कारोबारभन्दा इन्डेक्सको आधारमा पुँजीगत लाभकर संकलन हुने उनले बताए ।

उनका अनुसार दीर्घकालीन लगानीकर्ताबाट कात्तिकमा २ करोड ६९ लाख १८ हजार रुपैयाँ असोजमा ५ करोड ५१ लाख ६० हजार, भदौमा ५ करोड ६७ लाख ६२ हजार रुपैयाँ र साउनमा १० करोड १५ लाख ८५ हजार रुपैयाँ मात्र पुँजीगत लाभकर संकलन भएको छ ।

यस्तै अल्पकालीन लगानीकर्ताले कात्तिकमा ४ करोड ६० लाख ४१ हजार, असोजमा १४ करोड ९८ लाख ३३ हजार, भदौमा ७ करोड ६६ लाख ५ हजार र साउनमा २२ करोड ४७ लाख १२ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् ।

संस्थागततर्फ पनि घट्दै

त्यसैगरी संस्थागत लगानीकर्ताबाट पनि कात्तिकमा १ करोड ११ लाख रुपैयाँ मात्र संकलन भएको सीडीएसले जनाएको छ । संस्थागत लगानीकर्ताले असोजमा एक करोड ४५ लाख ८५ हजार रुपैयाँ, भदौमा ६७ लाख रुपैयाँ र साउनमा सात करोड ४५ लाख ९४ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको सिडिएसको तथ्यांकमा उल्लेछ ।

कुन महिनामा कति उठ्यो पुँजीगत लाभकर

सिईओ आचार्यका अनुसार सरकारले चालु आवको साउनमा शेयर बजारबाट ४० करोड ८ लाख ९१ हजार ७८६ रुपैयाँ पुँजीगत लाभकर उठाएको थियो । साउनको तुलनामा कात्तिकमा आइपुग्दा उक्त लाभकर ३१ करोड ६७ लाख ३७ हजार अर्थात ७९ प्रतिशतले घटेको छ ।

त्यस्तै, लगानीकर्ताहरुले भदौमा सरकारलाई १४ करोड ६९ हजार रुपैयाँ र असोजमा २१ करोड ९५ लाख ७९ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् । निरन्तर रुपमा घटेको शेयर बजार र दशै बिदाका कारण बजार बन्द हुँदा असोजको तुलनामा कात्तिकमा यस्तो लाभकर झन् घट्न पुगेको हो ।

के छ व्यवस्था ? 

शेयर खरिद बिक्रीमा पुँजीगत लाभकरको नयाँ व्यवस्था २०७८ साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियोे । आर्थिक वर्ष २०७८/७९ को बजेट दुई खाले लगानीकर्तालाई फरक–फरक पुँजीगत लाभकर लाग्न व्यवस्था गरेको थियो । 

उक्त व्यवस्था अनुसार शेयर कारोबारमा अल्पकालीन लगानीकर्तालाई साढे सात प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई पाँच प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था रहेको छ ।

बजेटले एक वर्षभन्दा कम अवधिमा शेयर बिक्री गर्ने लगानीकर्तालाई अल्पकालीन र एक वर्षभन्दा धेरै अवधिको लागि शेयर राखेर बिक्री गर्नेलाई दिर्घकालीन लगानीकर्ता मानेको छ ।

२०७८ जेठ १५ गते अध्यादेशमार्फत सार्वजनिक गरिएको ०७८/७९ को बजेटमा पूँजीगत लाभकरको नयाँ व्यवस्था गरिएको थियो । यसअघि सबै लगानीकर्तालाई पाँच प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको थियो ।
 

Advertisment

थप समाचार