Below Menu
Below Menu

सवा दुई अर्बले बढ्यो निर्जीवन बीमाको व्यापार, अर्ब क्लबमा छ कम्पनी

सवा दुई अर्बले बढ्यो निर्जीवन बीमाको व्यापार, अर्ब क्लबमा छ कम्पनी

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा १२ अर्बबढीको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा कम्पनीहरुले आठ लाख ९४ हजार ५२४ बीमालेख बिक्री गरी १२ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

गत असोज मसान्तसम्मको तुलनामा कम्पनीहरुको व्यवसाय करिब सवा दुई अर्ब रुपैयाँले बढेको छ । असोज मसान्तसम्म कम्पनीहरुले ६ लाख ८१ हजार ४६४ बीमालेख बिक्री गरी १० अर्ब ४४ करोड ५५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए । 

अर्ब क्लबमा छ कम्पनी 

प्राधिकरणका अनुसार यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) रहेको छ । कम्पनीले यस अवधिमा ९६ हजार २३३ बीमालेख बिक्री गरी एक अर्ब ६० करोड ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।

त्यस्तै, दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले कात्तिक मसान्तसम्म एक लाख एक हजार ७२ बीमालेख बिक्री गरी एक अर्ब ३३ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो छ भने शिखर इन्स्योरेन्सले यस अवधिमा ९५ हजार ८६० बीमालेख जारी जारी गरी एक अर्ब २७ करोड ३५ लाख रुपैयाँको व्यवसाय गरेको छ ।

त्यसैगरी नेको इन्स्योरेन्सले कात्तिक मसान्तसम्म एक अर्ब ५ करोड ९४ लाख रुपैयाँ, आईजीआई प्रुडेसिन्यलले एक अर्ब ९ करोड ३७ लाख र हिमालयन एभरेष्टले एक अर्ब १३ करोड ३६ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ ।

आठ कम्पनीको व्यवसाय अर्ब भन्दा तल

बजारमा आर्थिक गतिविधि सुस्त हुँदा बीमा कम्पनीहरुको विजनेश पनि घट्दै गएको हो । केही सिमित कम्पनीले अर्ब भन्दा माथिको व्यवसाय गर्दा आठ कम्पनी अझै अर्ब क्लवमा पुग्न सकेका छैनन् ।

कात्तिक मसान्तसम्म नेपाल इन्स्योरेन्सले ४९ करोड ६१ लाख ९७ हजार रुपैयाँ, नेशनल इन्स्योरेन्स कम्पनीले ४३ करोड १७ लाख ४८ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।

प्राधिकरणका अन्सार यस अवधिमा दि ओरियन्टलले ५८ करोड ९९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने राष्ट्रिय बीमा कम्पनीले ४१ हजार ६८१ बीमालेख बिक्री गरी ५८ करोड ५५ लाख २८ रुपैयाँ बीमाशुल्क उठाएको छ ।

त्यस्तै, प्रभु इन्स्योरेन्सले ७० करोड ६१ लाख रुपैयाँ, एनएलजीले ८३ करोड ६२ लाख ४३ हजार, सानिमा जिआईसीले ७१ करोड ६७ लाख ७९ हजार रुपैयाँ र युनाइडेड अजोड इन्स्योरेन्सले ८६ करोड ८३ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

लघुबीमाको व्यवसाय एक करोड माथि

कात्तिक मसान्तसम्ममा निर्जीवन बीमा अन्तर्गतका दुई लघुबीमा कम्पनीहरुले एक करोड माथिको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले ५ हजार ६५० बीमालेख जारी गरी एक करोड ६७ लाख ८८ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।

यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले ६१ लाख ३१ हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले एक करोड ६ लाख ५७ हजार रुपैयाँ बराबरको व्यवसाय गरेकोे हो । 


 

Advertisment

थप समाचार