Below Menu
Below Menu

बीमाको दायरा विस्तारमा असफल प्राधिकरण: साँघुरिदै व्यवसाय, घट्दै कार्यालय र कर्मचारी

बीमाको दायरा विस्तारमा असफल प्राधिकरण: साँघुरिदै व्यवसाय, घट्दै कार्यालय र कर्मचारी

काठमाडौं : बीमाको दायरामा आएको जनसंख्या प्रतिशत घट्दै गएको पाइएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवनबीमा सहितको बीमाको दायरामा आएको जनसंख्या घट्दै गएको हो ।

गत आर्थिक वर्षमा बीमाको दायरामा आएको जनसंख्या ४३.७८ प्रतिशतमा पुगेको थियो । तर, चालु आवको कात्तिक मसान्तसम्मको तथ्यांक हेर्दा यो संख्या ४२.९८ प्रतिशतमा सिमित भएको छ ।

बीमाको दायरा विस्तारमा असफल प्राधिकरण

बीमाको दायरा विस्तारका लागि प्राधिकरणले विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । स्थानीय तहहरुको समन्वयमा बीमा क्षेत्रका बारेमा अन्तक्र्रिया कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । तर, बीमा दायरा विस्तारमा भने वृद्धि हुन सकेको छैन ।

पछिल्लो समय बजारमा देखिएको आर्थिक मन्दीका कारण बीमा क्षेत्रमा पनि असर परेको बीमा विज्ञ बताउँछन् । मुलुकमा देखिएको आर्थिक संकट, बजारको महंगी र बैंकको बढ्दो ब्याजदरका कारण बीमा क्षेत्रलाई प्राथमिकतामा नराखेको उनीहरुको भनाई छ ।

साँघुरिदै व्यवसाय

बीमा क्षेत्रको दायरा संँगसँगै बीमा कम्पनीहरुहरुको व्यवसाय पनि घट्दै गएको छ । गत वर्षको कात्तिक मसान्तसम्म १३ अर्ब ३५ करोड ५८ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय चालु आवको सोही अवधिमा आइपुग्दा ४.५८ प्रतिशतले घटेर १२ अर्ब ७४ करोड ७१ लाख रुपैयाँमा सिमित भएको छ ।

यता जीवन बीमा कम्पनीहरुको व्यवसायमा भने सामान्य वृद्धि देखिएको छ । कात्तिक मसान्तसम्म ४९ अर्ब ४४ करोड ११ लाख रुपैयाँ बराबरको कुल जीवन बीमाशुल्क संकलन भएको छ ।

गत आवको सोही अवधिको तुलनामा कम्पनीहरुको व्यवसाय ७.४५ प्रतिशतले बढेको हो । गत वर्षको कात्तिक मसान्तसम्म ४६ अर्ब १ करोड १५ लाख रुपैयाँ बराबरको कुल जीवन बीमाशुल्क संकलन भएको थियो ।

प्राधिकरणका अनुसार निर्जीवन र जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क संकलन भने ६२ अर्ब १८ करोड ८३ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा यस्तो बीमाशुल्क ५९ अर्ब ३७ करोड एक लाख रुपैयाँ रहेको थियो । 

चालु आवको कात्तिक मसान्तसम्ममा कुल जीवन बीमालेख संख्या १.६० प्रतिशतले घटेर एक करोड ३७ लाख १९ हजार ७२५ मा सिमित भएको छ भने निर्जीवन बीमालेख संख्या २.६८ प्रतिशतले घटेर ८ लाख ९४ हजार ५२४ मा सिमित भएको छ ।

प्राधिकरणका अनुसार यस अवधिमा म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेकको जीवन बीमालेख संख्या ५.९४ प्रतिशतले बढेर ५६ लाख २२ हजार ४५९ मा पुगेको छ । त्यस्तै, म्यादि र लघुम्यादि जीवन बीमालेख संख्या १४.९७ प्रतिशतले घटेर ६३ लाख ११ हजार ६९३ रहेको छ ।

यस अवधिमा वैदेशिक रोजगार बीमालेख संख्यामा भने वृद्धि भएको छ । गत आवको कात्तिक मसान्तसम्म १२ लाख १२ हजार ४६२ वैदेशिक रोजगार बीमालेख संख्या रहेको यस अवधिमा ४७.२७ प्रतिशतले बढेर १७ लाख ८५ हजार ५७३ मा पुगेको छ ।

त्यसैगरी गत आवको सोही अवधिमा नौं अर्ब ११ करोड ७२ लाख रुपैयाँ रहेको प्रथम जीवन बीमाुशल्क ५.३६ प्रतिशतले घटेर ८ अर्ब ६२ करोड ८५ लाखमा सिमित भएको छ । नविकरण जीवन बीमाशुल्कमा भने १०.६२ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

त्यस्तै, यस अवधिमा म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमालेख बाहेक बीमाको दायरामा आएको जनसंख्या १७.४९ प्रतिशत रहेको छ भने म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमालेख सहित बीमाको दायरामा आएको जनसंख्या ३७.१३ प्रतिशत रहेको छ ।

घट्दै कार्यालय र कर्मचारी 

प्राधिकरणका अनुसार यस अवधिमा बीमा कम्पनीहरुको कार्यालय र कर्मचारीको संख्या पनि घट्दै गएको छ । पछिल्लो समय धेरै कम्पनीहरुको मर्जरमा गएका कारण पनि कार्यालयका संख्या घट्दै गएको बीमा कम्पनीका सञ्चालक बताउँछन् । 

यस अवधिमा जीवन बीमा कम्पनीहरुको कार्यालय संख्या २१.२४ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा कम्पनीहरुको कार्यालय संख्या ३.९७ प्रतिशतले घटेको छ ।

प्राधिकरणका अनुसार गत आवको कात्तिक मसान्तसम्म बीमा कम्पनीहरुको कार्यालय संख्या ३ हजार ३५७ रहेको थियो भने चालु आवको यस अवधिमा आइपुग्दा यस्तो संख्या घटेर २ हजार ८२७ मा झरेको छ ।

गत वर्षको कात्तिक मसान्तको तुलनामा चालु आवको सोही अवधिमा बीमा कम्पनीहरुका कर्मचारी ४०२ जना घटेका छन् । गत आवको सोही अवधिमा ११ हजार ८२० कर्मचारी रहेका बीमा कम्पनीहरुमा यस अवधिमा आइपुग्दा घटेर ११ हजार ४१८ जना रहेका छन् ।

कात्तिक मसान्तसम्म आइपुग्दा जीवन बीमा कम्पनीहरुको कर्मचारी ६.२८ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरुको कर्मचारी ०.२८ प्रतिशतले घटेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
 

Advertisment

थप समाचार