काठमाडौं : चालु आर्थिक वर्षको कात्तिक महिनामा ७९ करोड बढीका बीमा पोलिसी सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा महिनामा १४ बीमा कम्पनीका ६ हजार ९१ बीमितले ७९ करोड ४९ लाख ८९ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका हुन् ।
गत असोजको तुलनामा पोलिसी त्याग्ने बीमितको संख्या घटेको हो । गत असोजको तुलनामा ३८ करोड ८० लाख अर्थात ३२.८० प्रतिशतले पोलिसी सरेन्डर कम भएको हो । असोजमा ९ हजार ९३६ बीमितले एक करोड १८ लाख २९ हजार रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका थिए ।
प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा बढी नेपाल लाइफका बीमितले पोलिसी सरेन्डर गरेका छन् । कात्तिकमा उक्त कम्पनीका एक हजार ७७७ बीमितले २६ करोड ४३ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका हुन् ।
त्यस्तै, यस अवधिमा राष्ट्रिय बीमा संस्थानका ४५० बीमितले ४ करोड ६० लाख ५८ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको ३९१ बीमालेख सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको १७ करोड ४५ लाख रुपैयाँ बराबरको एक हजार १५५ वटा, मेट लाइफको एक करोड ३७ लाख ८२ हजार रुपैयाँको १६४ वटा र एशियन लाइफको ९८७ बीमितले १२ करोड १९ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् ।
प्राधिकरणका अनुसार कात्तिकमा आईएमई लाइफ इन्स्योरेन्सको ४८ लाख ५० हजार रुपैयाँ बराबरको ६५ बीमालेख सरेन्डर भएका छन् । त्यस्तै यस अवधिमा सन नेपाल लाइफको ६० लाख ५५ हजार रुपैयाँ बराबरको ५१ वटा बीमालेख सरेन्डर भएका छन् भने रिलायबल नेपाल लाइफका सबैभन्दा कम ४० लाख ८७ हजार रुपैयाँका ७३ वटा पोलिसी सरेन्डर भएका छन् ।
त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सका १५३ बीमितले कात्तिकमा ८३ लाख २३ हजार रुपैयाँ बराबरको १५३ बीमालेख सरेन्डर गरेका छन् भने सूर्यज्योति लाइफको २ करोड ८४ लाख ९३ हजार रुपैयाँ बराबरको १९७ वटा पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
प्राधिकरणका अनुसार चालु आवको कात्तिकमा सानिमा रिलायन्स लाइफको ९७ लाख ५ हजार रुपैयाँको ९३ वटा, हिमालयन लाइफको चार करोड २६ लाख ३६ हजार रुपैयाँ बराबरको ४७७ वटा र प्रभु महालक्ष्मी लाइफको ६८ लाख ५५ हजार रुपैयाँ बराबरको ५८ बीमालेख सरेन्डर भएका छन् ।
Advertisment