काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुको तल्लो तहको पद स्वतः रद्द भएको छ । सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) अनुसार उक्त पद स्वतः रद्द भएको हो ।
ऐनमा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेको छ । सोही व्यवस्था बमोजिम भन्ने व्यवस्था बमोजिम उनीहरुको पद स्वतः रद्द भएको हो ।
यस विषयमा नियामक निकाय सहकारी विभागले समेत स्पष्ट पारिसकेको छ । विभागले २०८० मंसिर १० गते नेफ्स्कूनलाई पत्राचार गर्दै कुनै प्रारम्भिक संस्था वा विषयगत जिल्ला वा प्रदेश संघको सञ्चालक केन्द्रीय संघमा निर्वाचित भई निर्वाचित पदको सपथ ग्रहण लिएपछि त्यस अघि कायम रहेको संस्थाको सञ्चालक समितिको पद स्वतः नरहने स्पष्ट पारेको हो ।
विभागले नेफ्स्कूनलाई पठाएको पत्रमा भनिएको छ, ‘उपर्युक्त सम्बन्धमा तहाँ प.सं. २०८०/०८१, च.नं. ४१८, मिति २०८०/०८/०८ को पत्र प्राप्त भई व्यहोरा अवगत भयो । उक्त विषयका सम्बन्धमा सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) मा ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ’ भन्ने व्यवस्था रहेको हुँदा कुनै प्रारम्भिक संस्था वा विषयगत जिल्ला वा प्रदेश संघको सञ्चालक केन्द्रीय संघमा निर्वाचित भई निर्वाचित पदको सपथ ग्रहण लिएपछि त्यस अघि कायम रहेको संस्थाको सञ्चालक समितिको पद स्वतः नरहने व्यहोरा आदेशानुसार अनुरोध छ ।’
पुष ७ र ८ गते सम्पन्न संघको ३२ औं वार्षिक साधारण सभाबाट १९ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुरपरीवेक्षण समिति निर्वाचित भएको थियो । उक्त निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुमा अधिकांश व्यक्ति दोहोरो/तेहरो पदमा छन् । ऐन अनुसार केन्द्रीय संघमा निर्वाचित भई निर्वाचित पदको सपथ ग्रहण लिएपछि त्यसअघि कायम रहेको संस्थाको सञ्चालक समितिको पद स्वतः रद्द भैसकेको छ । पद स्वतः रद्द भएपनि अधिकांश व्यक्ति अझै संस्थामा हक जमाई बसेका छन् ।
‘कुनै सहकारी संस्थाको सञ्चालक सोही संस्थाको कर्मचारी वा आफ्नो संस्थाले सदस्यता लिएको सहकारी संस्था बाहेक अर्को कुनै सहकारी संस्थाको सञ्चालक बन्न पाउने छैन,’ ऐनमा भनिएको छ । ऐनको दफा ४१ को उपदफा (४) र दफा ४१ को उपदफा (५) एक आपसमा बाँझिएको छ । विभागले दफा ४१ को उपदफा (५) अनुसार नेफ्स्कूनलाई पत्राचार गरेको भएपनि दफा ४१ को उपदफा (४)ले आफ्नो संस्थाले सदस्यता लिएको सहकारी संस्थामा सञ्चालक बन्न पाउने भनेर प्रष्ट रुपमा भनेको छ ।
नियामक निकायले ऐनको व्यवस्था कार्यान्वयन गराउन खोजेको छ भने सहकारी अभियानले ऐनको दफा ४१ को उपदफा (४) अनुसार सञ्चालक बस्न पाउनु पर्नेे अडान राखेको छ ।
सहकारी विभागमा उपरजिष्ट्रार टोलराज उपाध्याय भने एक व्यक्तिले एकपटकमा एउटा मात्र संस्थामा क्रियाशिलता जनाउनुपर्ने बताउँछन् । ‘विभागले ऐनको दफा ४१ को उपदफा (५) अनुसार पद स्वतः रद्द हुन्छ भनेर स्पष्ट पारेका छौं । तर, ऐनको दफा ४१ को उपदफा (४) मा आफ्नो संस्थाले सदस्यता लिएको सहकारी संस्थामा सञ्चालक बन्न पाउने भनेर भनेको छ । ४१ को उपदफा (४) र ४१ को उपदफा (५) एक आपसमा बाझिएको छ’, उनले भने, ‘नैतिकताको आधारमा उहाँहरुले तल्लो तहको सहकारी संस्था छाड्नुपर्छ ।’
नेफ्स्कूनका नवनिर्वाचित कोषाध्यक्ष दीपक थापाले भने जिल्ला सहकारी संघ काभ्रेको सदस्यबाट राजिनामा दिएर मार्गप्रशस्त गरेका छन् । त्यस्तै, सदस्य नवराज अर्यालले काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघको वरिष्ठ उपाध्यक्ष छाड्ने घोषणा समेत गरेका छन् ।
नेफ्स्कूनको आगामी पुस २३ गते बस्ने सञ्चालक समितिको बैठकले उक्त विषयमा छलफल गरेर टुंगोमा पुर्याउने वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले बताए ।
Advertisment