Below Menu
Below Menu

सहकारी ब्युँताउने निष्कर्षमा पुगे इमेज पीडित, माघ ६ गते डाकियो विशेष साधारण सभा

सहकारी ब्युँताउने निष्कर्षमा पुगे इमेज पीडित, माघ ६ गते डाकियो विशेष साधारण सभा

बागलुङ : विगत ८ महिनादेखि सञ्चालनमा आउन नसकेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका पीडित सदस्यहरुले विशेष साधारणसभा आव्हान गरेका छन् ।

इमेज सहकारीका पीडित सदस्य बच  तकर्ताहरुले मंसिर ४ गते भेला गरी आगामी माघ ६ गते शनिवार विशेष साधारणसभा बोलाउने निर्णय गरेका हुन् । गण्डकी प्रदेश सहकारी ऐन २०७५ को दफा ३६ को उपदफा ४ बमोजिम सदस्यहरुको बहमुत उपस्थितिमा सम्पन्न गर्ने गरी विशेष साधारणसभा बोलाउने निर्णय गरिएको इमेज बचत पीडित संघर्ष समिति बागलुङका संयोजक डिल बहादुर कार्कीले जानकारी दिए ।

गण्डकी प्रदेश सहकारी ऐन २०७५ को दफा ४ मा संस्थाको सञ्चालक वा व्यवस्थापकबाट आफ्नो जिम्मेवारी पूरा नगरी संस्था सञ्चालनमा समस्या उन्पन्न भएको अवस्थामा दर्ता अधिकारीलाई जानकारी दिई साधारण सदस्यहरु मध्येबाट बहुमत सदस्य उपस्थित भई विशेष साधारणसभा गर्न सकिने व्यवस्था गरिएको छ ।

इमेज सहकारीका सदस्य बचतकर्ताहरुका तर्फबाट गत मंसिर ४ गते भेला गरी विशेष साधारणसभा बोलाइदिन सहकारी रजिष्ट्रारको कार्यालय पोखरामा अनुरोध गरेकाे र पत्राचार गरेको लामो समय भइसक्दा पनि समस्या समाधान नभएपछि विभागीय मन्त्री र रजिष्ट्रार सहितको छलफलपछि विशेष साधारणसभा बोलाउने निर्णय गरिएको कार्कीले बताए ।

बचतकर्ताहरुले बचत फिर्ताका लागि राज्यका विभिन्न निकाय लगायत सहकारी अभियानसंग सल्लाह, अनुरोध, परामर्श, धर्ना, जुलुश लगायत आवश्यक सबै प्रक्रिया अपनाउदा पनि समस्या समाधान नभएपछि संस्था ब्यूताउने निष्कर्षमा पुगेका थिए ।

बचतकर्ताको डेढ अर्ब बढी रकम उठाएर इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष देव कुमार नेपाली सहित सञ्चालकहरु फरार भएपछि शेयर सदस्यहरुले सहकारीलाई जीवन्तता दिनका लागि निरन्तर प्रयास गर्दै आएका छन् ।

इमेज बचत तथा ऋण सहकारी संस्थाद्वारा डेढ अर्ब बचत उठाएर फरार भएका बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाली बिरुद्ध बचतकर्ता पीडितहरु निरन्तर आन्दोलनमा रहेका छन् ।

देव कुमार नेपालीको नाममा रहेको सम्पती बैंकमा राखेर लिएको ऋण तिर्न बैंकले लिलामी प्रक्रिया अगाडि बढाएपछि पीडितहरुले संस्था ब्यूताएर समस्या समाधान गर्न बैंकहरुसंग समेत छलफल गरिएको संयोजक कार्कीले जानकारी दिए ।

नेपालीले बागलुङ बजार र बुर्तिवाङका घर तथा जग्गा धितो राखेर बैंकबाट लिएको ऋण तिरेर सहकारीको नाममा उक्त घर तथा जग्गा ल्याउने, बैंकको ऋण तिरेर बाँकी रहेको सम्पती बचत कर्तालाई दिने गरी सहकारीको विशेष साधारण सभा बोलाउने निर्णय गरिएको पीडित संघर्ष समितिका सचिव याम प्रसाद पोखरेलले बताए । ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका नेपाली अध्यक्ष रहेको इमेज सहकारीले बागलुङबाट डेढ अर्ब रकम उठाएर ८ महिनादेखि फरार छन् ।

जेठ ५ गतेबाट फरार रहेका नेपालीलाई यथासिघ्र पक्राउ गरि बचतकर्ताको रकम फिर्ता गर्नु पर्ने र इमेज सहकारीलाई समस्याग्रस्त सहकारीको सूचिमा राख्न माग गर्दै चरणवद्ध आन्दोलन गरिरहेको संघर्ष समितिका माग सुनुवाई नभएको भन्दै नियम संगत रुपमा विशेष साधारणसभा आव्हान गरिएको पीडितहरुले बताएका छन् ।

गत वैशाख ६ गतेको बैठकको निर्णय भन्दै ७ गते सूचना प्रकाशित गरेर सहकारी संस्था बन्द भएको थियो । जिल्ला सहकारी संघ लिमिटेड बागलुङको संयोजनमा सहकारीकर्मीहरुको पहलकदमीमा बैशाख ११ गतेदेखि कार्यालय सञ्चालनमा ल्याइए पनि जेठ ५ गतेदेखि इमेजका अध्यक्ष नेपाली सहितको टिम सम्पर्कविहीन बनेको थियो ।

पीडित बचतकर्ताहरुले सहकारी व्यूताउने निर्णय गरेको भोलीपल्ट गत मंसिर ५ गते फेसबुक लाइफमा आएका देवकुमार नेपालीले आफ्नो सम्पत्ती बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । प्रतिवद्धता व्यक्त गरेको डेढ महिनासम्म पनि नेपालीले समस्या समाधान गर्ने कुनै प्रयास नगरेको पीडितहरुले बताएका छन् ।

Advertisment

थप समाचार