कास्की : मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको कार्य क्षेत्र विस्तारका क्रममा घुस लिएको आरोपमा पक्राउ परेका कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कारागार चलान भएका छन् ।
सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका रजिष्ट्रार हुँदा संस्थाको कार्यक्षेत्र विस्तार गर्नका लागि १ करोड ५ लाख घुस लिएको आरोप छ । पराजुलीसहित अन्य ६ जना कारागार चलान भएका छन् ।
संस्थाका सञ्चालक समितिका पदाधिकारीसमेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको र सहाकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरी अनुसार सहकारी ठगी कसुरका प्रतिवादीहरुमध्ये हालसम्म ६ जना पक्राउ गरी अदालतमा पेस गरी पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
कारागार चलान हुनेहरुमा स्याङजा वालिङ नगरपालिका–११ धनपुरे घर भइ हाल पर्वतको कुश्मा नगरपालिकाको कार्यालयमा कार्यरत उपसचिव ५२ वर्षीय उदयबहादुर पराजुली, नुवाकोटको तारकेश्वर गाउँपालिका–१ का ३५ वर्षीय गोपाल खनाल, पोखरा–१७ विरौटाका ४२ वर्षीय बुद्धिसागर पौडेल र पोखरा–६ का ३९ वर्षीय राजु बराल छन्।
यस्तै उक्त सहकारीका अध्यक्ष तथा सञ्चालक ३२ वर्षीय रमन पौडेलृउनी बैंकिङ कसुर मुद्दामासमेत कारागारमै रहेकोे र पोखराको खोरपाखा घर भइ सहकारी संस्थाका कार्यकारी अधिकृतसमेत रहेका २८ वर्षीय किरण अधिकारी रहेका छन्। अधिकारी पनि बैंकिङ कसुर मुद्दाका लागि यसअघि नै पुर्पक्षका लागि कारागारमै थिए।
प्रहरीले ३२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा हालसम्म ६ जना पक्राउ परेका छन् । अन्य फरारको खोजी भइरहेको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
Advertisment