काठमाडौं : नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघको निर्वाचन सहितको ३१औं वार्षिक साधारण सभा यही पौष २७ र २८ गते हुँदैछ । निर्वाचन मिति नजिकिँदै गर्दा महासंघमा यतिबेला चुनावी सरगर्मी बढेको छ ।
सदस्यता नविकरणको समयसीमा पौष २३ गतेसम्म मात्रै छ । निर्वाचन सहितको साधारण सभा भएका कारण सदस्यता नविकरण तिब्र रुपमा भईरहेको छ । राष्ट्रिय सहकारी महासंघमा ३१८ सहकारी संघ/बैंक आवद्ध छन् । चुनाव समेत भएकाले यस पटक ३ सयभन्दा बढीबाट प्रनिनिधि आउने अनुमान गरिएको छ ।
महासंघको विनियम २०५० (संशोधन सहित) अनुसार २५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुरपरीवेक्षण समिति रहेको व्यवस्था छ । विनियम अनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्ष एक/एक जना निर्वाचित हुने व्यवस्था छ । त्यस्तै उपाध्यक्ष ३ (एक महिला अनिवार्य), हरेक प्रदेशबाट एक/एक जना सञ्चालक, खुलातर्फ ९ जना, केन्द्रीय संघबाट ३ जना निर्वाचित हुने व्यवस्था छ । त्यसैगरी लेखा समिति संयोजक १ र सदस्य २ जना निर्वाचित हुने व्यवस्था छ ।
अध्यक्षको प्रतिस्पर्धामा मिनराज कडेल र ओमदेवी मल्ल छन् । कडेल वर्तमान् अध्यक्ष हुन् भने मल्ल वरिष्ठ उपाध्यक्ष । कडेल पुनः एक पटक दोहोर्याउने पक्षमा छन् भने मल्ल अध्यक्ष बनेर इतिहास रच्ने सोचमा छिन् । कडेल र मल्ल दुबै एमाले निकट सहकारीकर्मी हुन् । आकांक्षी दुबै जना एमाले भएका कारण दुई मध्ये एक उम्मेदवार हुने निश्चित प्रायः छ । दुबै जना यतिबेला टिकटको लागि दौडधुपमा छन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश पोखरेलको मात्रै दाबी छ । पोखरेल हाल उपाध्यक्ष छन् । त्यस्तै उपाध्यक्षमा एमालेबाटै तीन जनाको दाबी छ । खेम पाठक, डिबी बस्तेत र टेकप्रसाद चौलागाईंको दाबी छ । यता नेपाली कांग्रेसबाट सुरेन्द्र भण्डारीको पनि दाबी रहेको बुझिएको छ ।
महासंघको निर्वाचनमा दलिय प्रतिस्पर्धा नहुने निश्चित छ । सबै दल निकटका सहकारीकर्मीलाई मिलेर जाने पक्षमा एक स्वर छ । यसको नेतृत्व एमाले निकट सहकारीकर्मीहरुले गर्दैछन् । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदमा एमाले नै रहनेगरी सहमतिको प्रयासमा एमाले जुटेको छ । उपाध्यक्ष १ नेपाली कांग्रेसलाई दिने उनीहरुको रणनीति छ ।
बाँकी दल निकटका सहकारीकर्मीलाई सञ्चालकमा राखेर लैजाने भित्रि तयारी उनीहरुको छ । महासंघमा आउने अधिकांश प्रतिनिधि एमाले निकट छन् । तर, पनि सबैलाई मिलाएर लैजाने पक्षमा एमाले छन् ।
Advertisment