कास्की : पोखरा महानगरपालिका–९ नयाँबजारस्थित मित्र मिलन सहकारीका लेखा सुपरीवेक्षण समितिका संयोजक सूर्य अधिकारी पनि पक्राउ परेका छन् ।
सहकारीको ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो । सहकारीको रकम हिनामिनाको आरोपमा दोषी देखिएका अधिकारी प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार थिए । अधिकारीलाई प्रहरीले बुधबार पोखरा महानगरपालिका-१३, कसेरीस्थित घरबाटै पक्राउ गरेको हाे। पक्राउ परेका अधिकारीलाई बुधबार नै प्रहरीले अदालतमा उपस्थित गराएकोमा अदालतको काम नसकिएपछि हाल प्रहरी हिरासतमा राखिएको छ।
सहकारी ठगीमा संलग्न भएको आरोप लागेका ६ जना यसअघि पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । कास्की प्रहरीले सहकारीमा ३१ करोड ७८ लाख रकम हिनामिना भएको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा ८ पुसमा पेस गरेको थियो ।
प्रहरीले सहकारीमा भएको ठगीको अनुसन्धानसँगै बचतकर्ताले दिएको उजुरीका आधारमा सो रकमबराबरको बिगो दाबी गर्दै प्रतिवेदन तयार गरी पेस गरेको थियो । त्यसअघि ६ पुससम्म गरी सात सय १४ वटा बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए ।
ती जाहेरीमा उल्लेख भएका रकम जोड्दा २० करोड ५० लाख ८२ हजार १९ रुपैयाँ ३२ पैसा पुगेको थियो । सहकारीमा कुल बचतकर्ताको संख्या तीन हजार चार सय ४६ जना रहेकोमा प्रहरीमा परेको जाहेरीसँगै प्रतिवेदन, अन्य ठगी भएको रकम र उजुरी दिन नआएका बचतकर्तासमेतको रकम हिसाबसँगै आवश्यक अन्य अध्ययनपछि ३१ करोड ७८ लाख ठगी भएको निष्कर्षसहित प्रतिवेदन तयार गरेर बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएपछि पक्राउ परेका पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई जिल्ला अदालत कास्कीले पुस १७ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिस्ट्रार पराजुलीसहित सहकारी सञ्चालक गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
सहकारीका अध्यक्ष रमण पौडेल र कार्यकारी अधिकृत किरण अधिकारी पनि पुर्पक्षका लागि थुनामा छन् । कात्तिक ४ पक्राउ परेका अध्यक्ष पौडेल र कार्यकारी अधिकृत अधिकारीको बयानको आधारमा कुश्माका प्रमुख प्रसाशकीय अधिकृत पराजुली तानिएका हुन्।
हालसम्म ७ जना पक्राउ परेका छन्। २५ जना अझै फरार छन्।
Advertisment