Below Menu
Below Menu

डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, एक महिनामै करिब आठ खर्बको कारोबार 

डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, एक महिनामै करिब आठ खर्बको कारोबार 

काठमाडौं : पछिल्लो समय नेपालमा विद्युतीय कारोबार र भुक्तानी बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसिर महिनाको तथ्यांक हेर्दा डिजिटल कारोबार र भुक्तानीमा उल्लेख्य वृद्धि भएको पाइएको छ ।

कोरोना महामारी पश्चात नेपालमा डिजिटल कारोबार र भुक्तानीमा सर्वसाधारणको आकर्षण बढ्दो छ । प्रविधिको विकास सँगसँगै हरेक सर्वसाधारणले जानी नजानी भएपनि डिजिटल कारोबार मार्फत सर्वसाधारणहरु उन्मुख भएका छन् । 

अहिले काठमाडौं उपत्यका लगायत नेपालका मुख्य सहरहरूमा ठूला–ठूला सपिङ मलमा मात्र नभई चियापसलदेखि, तरकारी पसल लगायतका सामान्य खालमा पसलमा पनि डिजिटल कारोबार तथा भुक्तानीमा वृद्धि भइरहेको छ ।

अझ भनौं पछिल्लो समय क्युआरकोड अर्थात् (क्विक रेस्पोन्स पेमेन्ट) सेवा, कनेक्ट आइपिएस र मोवाइल वालेटमा पनि सर्वसाधारणको आकर्षण बढ्दै गएको छ ।

चालु आर्थिक वर्षको मंसिरमा डिजिटल भुक्तानी मार्फत ७ खर्ब ७५ अर्ब ८८ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त कारोबार कनेट आइपिएस, इ– कर्मश, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, क्यूआर पेमेन्ट, पोन्ट अफ सेल्स (पिएसओ) का प्रयोगकर्ताबाट भएको हो । 

राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने पनि एक वर्षमै मोबाइल वाटेट प्रयोगकर्ताहरु ५३ लाख २५ हजारभन्दा बढीले बढेका छन् भने मोबाइल बैंकिङ प्रयोगकर्ताहरु २८ लाख ५८ हजार भन्दाबढीले बढेका छन् ।

गत आवको मंसिरको तुलनामा चालु आवको सोही अवधिमा मोबाइल वाटेट प्रयोगकर्ताहरुको संख्या ५३ लाख २५ हजार ६८१ अर्थात ३४.२५ प्रतिशतले बढेर दुई करोड ८ लाख २७ हजार ९९४ पुगेको छ भने २३ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जबकी गत आवको सोही अवधिमा वालेट प्रयोगकर्ताहरु एक करोड ५५ लाख २ हजार १३३ रहेका थिए ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा डेबिट कार्ड प्रयोगकर्ता एक करोड २६ लाख ८० हजार १६८, क्रेडिट कार्ड प्रयोगकर्ता तीन लाख ३ हजार ७२०, मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड २६ लाख २४ हजार ६०७, इन्टरनेट बैंकिङ पूयोगकर्ता १७ लाख ८८ हजार ६५७ र कनेट आईपिएस प्रयोगकर्ता ११ लाख ८२ हजार ७५६ पुगेका छन् ।

कति भयो कारोबार ?

राष्ट्र बैंकका अनुसार चालु आवको मंसिर महिनामा कनेट आईपीएस मार्फत चार खर्ब ३२ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जबकी गत आवको सोही अवधिमा २ खर्ब ९८ अर्ब २८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । 

त्यस्तै, डेबिट कार्डमार्फत मंसिरमा ८३ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने क्रेडिट कार्डमार्फत एक अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । मंसिरमा इन्टरनेट बैंकिङ मार्फत १३ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी, गत आवको मंसिर महिनामा मोबाइल बैंकिङ मार्फत एक खर्ब ६० अर्ब तीन करोड रुपैयाँ बराबरको कारोबार भएकोमा चालु आवको सोही अवधिमा २ खर्ब ६३ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

राष्ट्र बैंकका अनुसार मंसिरमा क्यु्आर मार्फत ३८ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जबकी गत आवको सोही अवधिमा क्युआर मार्फत १९ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै यस अवधिमा पोइन्ट अफ सेल्स पीओएस मार्फत ५ अर्ब ७ करोड र इ–कमर्सबाट ७२ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।  

Advertisment

थप समाचार