Below Menu
Below Menu

छ महिनामा थपिए २२ हजार ४५६ ऋणी कालोसूचीमा, सहकारी मात्र ९२ वटा 

छ महिनामा थपिए २२ हजार ४५६ ऋणी कालोसूचीमा, सहकारी मात्र ९२ वटा 

काठमाडौं : चालु आर्थिक वर्षको छ महिना अर्थात पुस मसान्तसम्म २२ हजार भन्दाबढी ऋणीहरु कालोसूचीमा परेका छन् । समयमा ऋण तिर्न नसकेपछि कर्जा सूचना केन्द्रले यस अवधिमा २२ हजार ४५६ ऋणीलाई कालोसूचीमा राखेको हो । 

बजारमा देखिएको आर्थिक मन्दीका कारण पछिल्लो समयमा कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनीहरुको संख्या थपिदै गएको छ । यस अवधिमा धेरैजसो व्यक्तिहरु चेक बाउन्सका कारण कालोसूचीमा पर्ने गरेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यस अवधिमा कालोसूचीमा पर्नेमा विभिन्न व्यक्ति सँग–सँगै, होटल तथा रेष्टुरेन्ट, निर्माण कम्पनी, सहकारी लगायत अन्य कम्पनीहरु रहेका छन् । बजारमा आर्थिक गतिविधि सुस्ताउँदै गएपछि कालोसूचीमा पर्ने ऋणीहरुको संख्या थपिदै गएको हो ।

आर्थिक मन्दीका कारण निर्माणका कामहरु ठप्प छन् । सरकारले समयमै दायित्व भुक्तानी नगरिदिँदा व्यवसाय सुस्ताएको छ भने हुँदा आर्थिक गतिविधि चलायमान हुन सकेको छैन ।

पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा तरलता थपिदै गएपनि कर्जा लगानी सुस्त छ । यसले गर्दा पनि बजारमा आर्थिक गतिविधि बढ्न सकेको छैन । मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरुमा सुधार हुँदै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको पहिलो साउन महिनादेखि रेमिट्यान्स आप्रवाहमा ऐतिहासिक रेकर्ड कायम भएको छ । पुस मसान्तसम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा छ ।

अर्थतन्त्रका बाह्य सूचकहरु सकारात्मक देखिएपनि आन्तरिक अर्थतन्त्रमा भने सुधार हुन सकेको छैन । घरजग्गाको कारोबार अपेक्षा अनुसार बढ्न नसेकेको व्यवसायीको गुनासो छ । सरकारले लक्ष्य अनुसारको राजस्व उठाउन सकेको छैन । 

९२ सहकारी कालोसूचीमा 

केन्द्रका अनुसार चालु आवको पुस मसान्तसम्म ९२ सहकारी संस्थाहरु कालोसूचीमा परेका छन् । समयम बचतकर्ताको रकम फिर्ता गर्न नसेकपछि बचत तथा ऋणको करोबार गर्ने सहकारीहरु कालोसूचीमा परेका छन् । 

पछिल्लो समय कालोसूचीमा पर्ने सहकारीमा बचत तथा ऋणको कारोबार गर्ने सहकारी मात्र नभई कृषि र बहुउद्देश्यीय सहकारी पनि कालोसूचीमा थपिएका छन् ।

एक कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारी सञ्चालक र सदस्यहरुमा विश्वासको संकट उत्पन्न हुँदा सहकारी क्षेत्रनै धर्मराएको बताए । 

‘केही सहकारीमा आएको सुशासनको कमीले गर्दा समग्र सहकारीमा समस्या देखियो’, उनले भने, ‘सञ्चालक र सदस्यहरु नियमनमा बाँधिन नसक्दा समस्या आएको हो ।’

सशासनमा चल्न नसक्दा अहिले धेरै सहकारी समस्याग्रस्त बनेका छन् । अरबौंको कारोबार गर्ने शिवशिखर बहुउद्देश्यीय, तुलसी सहकारी, मित्रमिलन, इमेज, लालीगुराँस लगायतका ठूलो सहकारीहरु कालोसूचीमा परेका छन् ।
 

Advertisment

थप समाचार