काठमाडौं : बजारमा देखिएको आर्थिक मन्दीको असर चौतर्फी रुपमा देखिन थालेको छ । आर्थिक गतिविधि सुस्ताउँदै गर्दा त्यसको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्था लगायत बीमा क्षेत्रमा पनि देखिएको छ ।
फलरुवरुप बीमा पोलिसी सरेन्डर गर्ने बीमितको संख्या फेरी बढेको छ । चालु आर्थिक वर्षको मंसिर महिनामा एक अर्ब बढीका बीमा पोलिसी सरेन्डर भएका छन् । उक्त रकम गत मंसिरको तुलनामा ३६.७४ प्रतिशतले बढी हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा महिनामा १४ बीमा कम्पनीका नौ हजार ७४४ बीमितले एक अर्ब ८ करोड ७० लाख ९५ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् । जुन गत कात्तिकको तुलनामा २९ करोड २१ लाख रुपैयाँले बढी हो ।
कात्तिकमा ६ हजार ९१ बीमितले ७४ करोड ४९ लाख ८९ हजार रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका थिए ।
कुन कम्पनीका कति पोलिसी सरेन्डर !
प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा बढी नेपाल लाइफका बीमितले पोलिसी सरेन्डर गरेका छन् । मंसिरमा उक्त कम्पनीका २ हजार ४२५ बीमितले ३६ करोड ३५ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका हुन् ।
त्यस्तै, यस अवधिमा राष्ट्रिय बीमा संस्थानका एक हजार ५८५ बीमितले १२ करोड ५ लाख ६६ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ८२ लाख ७५ हजार रुपैयाँ बराबरको ४२२ बीमालेख सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको २२ करोड ८ लाख रुपैयाँ बराबरको एक हजार ९४७ वटा, मेट लाइफको तीन करोड ८० लाख ४० हजार रुपैयाँको ३२६ वटा र एशियन लाइफको एक हजार ९९ बीमितले आठ करोड ७१ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् ।
प्राधिकरणका अनुसार मंसिरमा आईएमई लाइफ इन्स्योरेन्सको एक करोड १४ लाख ५४ हजार रुपैयाँ बराबरको ११२ बीमालेख सरेन्डर भएका छन् । त्यस्तै यस अवधिमा सन नेपाल लाइफको सबैभन्दा कम ६५ लाख ५ हजार रुपैयाँ बराबरको ७२ वटा बीमालेख सरेन्डर भएका छन् ।
त्यस्तै, रिलायबल नेपाल लाइफका ६६ लाख ८६ हजार रुपैयाँका ११८ वटा पोलिसी सरेन्डर भएका छन् भने सिटिजन लाइफ इन्स्योरेन्सका १४६ बीमितले ९२ लाख ३० हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् । सूर्यज्योति लाइफको ६ करोड ४९ हजार रुपैयाँ बराबरको ४७४ वटा पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
प्राधिकरणका अनुसार चालु आवको मंसिरमा सानिमा रिलायन्स लाइफको दुई करोड ३४ हजार रुपैयाँको १६० वटा, हिमालयन लाइफको ५ करोड ८७ लाख ७८ हजार रुपैयाँ बराबरको ७१८ वटा र प्रभु महालक्ष्मी लाइफको एक करोड ५९ लाख ७८ हजार रुपैयाँ बराबरको १४० बीमालेख सरेन्डर भएका छन् ।
Advertisment