Below Menu
Below Menu

आर्थिक शिथिलताका बाबजुद बीमा कम्पनीहरुको नाफामा छलाङ, कुनले कति कमाए ?

आर्थिक शिथिलताका बाबजुद बीमा कम्पनीहरुको नाफामा छलाङ, कुनले कति कमाए ?

काठमाडौं : आर्थिक मन्दीका कारण समग्र वित्तीय क्षेत्र अहिले जोखिम बन्दै गएको छ । बजारमा आर्थिक गतिविधि सुस्त हुँदा बैंक तथा वित्तीय क्षेत्रमा पनि यसको असर परेको हो । 

समग्र बैंक तथा वित्तीय संस्थाको लगानी जोखिममा परेको छ । खराब कर्जाको दबाबका कारण बैंक तथा लघुवित्त कम्पनीको वित्तीय अवस्था नकारात्मक देखिएको छ । अझ भन्नुपर्दा निष्क्रिय कर्जा बढेका कारण यी क्षेत्रको नाफामा संकुचन आएको छ । कतिपय कम्पनीहरु नाफा बाँड्न नसक्ने अवस्थामा छन् । 

तर, आर्थिक शिथिलताका बाबजुद पनि बीमा कम्पनीहरुले नाफामा छलाङ मारेका छन् । बीमा क्षेत्रमा भने आर्थिक मन्दीको असर कम देखिएको छ । व्यवसाय विस्तारका साथै बीमा कम्पनीहरुको नाफामा पनि वृद्धि भएको पाइएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक हेर्ने हो भने अधिकांश बीमा कम्पनीहरुले नाफा बढाएका छन् । यस अवधिमा बीमा कम्पनीहरुको कर्जा लगानीबाट हुने आम्दानी बढेका कारण नाफा बढेको वित्तीय रिपोर्टमा उल्लेख छ ।

जीवन बीमा कम्पनीको नाफा तीन अर्ब माथि

चालु आवको पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ३ अर्ब भन्दा बढी नाफा कमाएका छन् । यस अवधिमा हाल सञ्चालनमा रहेका १४ बीमा कम्पनीहरुले ३ अर्ब ८ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको छन् । 

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ४१.४३ प्रतिशतले बढी हो । जबकी गत आवको सोही अवधिमा कम्पनीहरुले २ अर्ब १८ करोड ५ लाख रुपैयाँ नाफा कमाएका थिए । 

वित्तीय रिपोर्ट अनुसार पुस मसान्तसम्म १२ कम्पनीले नाफा बढाएका छन् भने दुई कम्पनीको नाफा भने घटेको छ । यस अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सको नाफा ८.२४ प्रतिशतले घटेको छ भने सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा ७.२२ प्रतिशतले घटेको हो । 

नाफा कमाउने १२ कम्पनी 

पुस मसान्तसम्म आइपुग्दा सूर्यज्योति लाइफले २३ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ उक्त नाफा गत वर्षको तुलनामा ६२.९३ प्रतिशतले बढी हो । त्यस्तै, नेपाल लाइफको नाफा१२.९ प्रतिशत र मेट लाइफको ३३.५३ प्रतिशतले बढेको छ । 

त्यसैगरी सरकारी स्वामित्वको कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनीले पनि यस अवधिमा ४४.१४ प्रतिशतले नाफा बढाएको छ । त्यस्तै, आईएमई लाइफको नाफा ९६.१४ प्रतिशत, सिटिजन लाइफको २.७३ प्रतिशत, रिलायबल नेपाल लाइफको ४.९७ प्रतिशत र नेशनल लाइफको नाफा १६.९१ प्रतिशतले बढेको छ।

पुस मसान्तसम्म आइपुग्दा सानिमा रिलायन्सले ९६.४८ प्रतिशत, एशियन लाइफले ११.४५ प्रतिशत, प्रभु महालक्ष्मीले ३६.१० प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशनले ५९.७९ प्रतिशतले नाफा बढाएको रिपोर्टमा उल्लेख छ । 

निर्जीवन बीमा कम्पनीकाे नाफा ४२.६५ प्रतिशते बढ्यो 

यता निर्जीवन बीमा कम्पनीहरूले पनि चालु आवको छ महिनामा ३ अर्ब बढी खुद नाफा कमाएका छन् । कम्पनीहरूले प्रकाशित गरेको चालु आव २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा ४२.६५ प्रतिशतले नाफा बढेको देखिएको हो । 

यस अवधिमा सञ्चालनमा रहेको १४ बीमा कम्पनीहरुले ३ अर्ब ८५ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । गत आवको सोही अवधिमा कम्पनीले २ अर्ब १० करोड ९० लाख ६१ हजार रुपैयाँ नाफा कमाएका थिए । 

यस अवधिमा अधिकांश कम्पनीका नाफा बढ्दा नेशनल इन्स्योरेन्सले भने घाटा व्यहोरेको छ । गत वर्ष १६ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आवको पुस मसान्तसम्म आइपुग्दा एक करोड ७ लाख ५५ हजार रुपैयाँ घाटा व्यहोरेको हो ।

पुस मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल इन्स्योरेन्स रहेको छ । यस अवधिमा कम्पनीले ४९ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा भने २३२.३४ प्रतिशत बढी हो ।

त्यसैगरी धेरै नाफा कमाउनेको दोस्रो स्थानमा रहेको राष्ट्रिय बीमा कम्पनीले ४२ करोड ७२ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा भने १४.१८ प्रतिशतले बढी हो । 

यस अवधिमा शिखर इन्स्योरेन्सको नाफा १९.१७ प्रतिशतले बढेको छ भने आईजीआई प्रुडेन्सियलले ५१.०८ प्रतिशतले नाफा बढाएको छ । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३६ करोड ९ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको दोस्रो त्रैमासको तुलनामा ११७.३४ प्रतिशत बढी हो । 

चालु आवको छ महिनामा सगरमाथा लुम्बिनीले  २० करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै एनएलजी इन्स्योरेन्सले ५३.९६ प्रतितशले नाफा बढाँउदा हिमालयन एभरेष्टले १८ करोड ४३ लाख नाफा कमाएको छ । दोस्रो त्रैमासम्म दि ओरियन्टलले शतप्रतिशत अर्थात १००.७२ प्रतिशतले नाफा बढाएको छ ।

यस अवधिमा नेको इन्स्योरेन्सको नाफा १५.२३ प्रतिशतले बढेको छ भने प्रभु इन्स्योरेन्सको नाफा ३९.७४ प्रतिशतले बढेको छ । त्यसैगरी सानिमा जिआइसीले २०.९४ प्रतिशतले नाफा बढाउँदा युनाइटेड अजोडले  १३ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । 
 

Advertisment

थप समाचार