Below Menu
Below Menu

बजेट घाटा करिब एक खर्ब, पुँजीगत खर्च २१ प्रतिशत मात्रै 

बजेट घाटा करिब एक खर्ब, पुँजीगत खर्च २१ प्रतिशत मात्रै 

काठमाडौं : आर्थिक वर्ष २०८०/८१ को सात महिना अर्थात माघ मसान्तसम्म  सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । माघ मसान्तसम्ममा मुलुकले ९५ अर्ब १९ करोड ४४ लाख बराबर बजेट घाटा व्यहोरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार माघमा अवधिमा वार्षिक लक्ष्यको ४०।१७ प्रतिशत आम्दानी र ३९।४१ प्रतिशत खर्च भएको छ ।

चालु आवका लागि सरकारले कूल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजश्व उठाउने लक्ष्य लिएको छ । कार्यालयको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा पाँच खर्ब ९१ अर्ब ५५ करोड ९३ लाख बराबर राजश्व असुली भएको छ । यो वार्षिक लक्ष्यको ४०.१७ प्रतिशत बराबर हो ।

यस अवधिमा कर राजश्वतर्फ ३९.९१ प्रतिशत अर्थात् ५ खर्ब १० अर्ब ४९ करोड ५५ लाख उठेको छ । गैरकरतर्फ वार्षिक लक्ष्यको ४८.६१ प्रतिशत अर्थात् ५९ अर्ब ९० करोड ७५ लाख बराबर असुली भएको छ ।

चालु आवका लागि कूल ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखिएकामा हालसम्म ५.५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड ८० लाख बराबर वैदेशिक अनुदान लिइएको छ ।

चालु आवका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको वार्षिक बजेट रहेकामा माघ मसान्तसम्ममा ६ खर्ब ८६ अर्ब ७५ करोड ३७ लाख खर्च भएको छ । यो वार्षिक लक्ष्यको ३९.२१ प्रतिशत बराबर हो ।

चालुगत शीर्षकमा कूल रु ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर बजेट छुट्याइएकामा ४४।५८ प्रतिशत अर्थात् पाँच खर्ब ९ अर्ब ४ करोड २२ लाख खर्च भएको छ । चालु शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ४४ दशमलव ५८ प्रतिशत हो ।

त्यसैगरी, पुँजीगत खर्च शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबर छुट्याइएकामा २१।०५ प्रतिशत अर्थात् ६३ अर्ब ५७ करोड ८९ लाख बराबर खर्च भएको छ ।

वित्तीय व्यवस्थामा ३ खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर बजेट विनियोजन भएकामा ३७।१२ प्रतिशत अर्थात् एक खर्ब १४ अर्ब १३ करोड २६ लाख बराबर खर्च भएको छ ।
 

Advertisment

थप समाचार