Below Menu
Below Menu

सरकारले शेयर बजारबाट सात महिनामा उठायो पौने तीन अर्ब पुँजीगत लाभकर 

सरकारले शेयर बजारबाट सात महिनामा उठायो पौने तीन अर्ब पुँजीगत लाभकर 

काठमाडौं : पछिल्लो समय शेयर बजार बढेसँगै पूँजीगत लाभकरमा पनि उल्लेख्य वृद्धि भएको पाइएको छ । सरकारले चालु आर्थिक वर्षको ७ महिना अर्थात माघ मसान्तसम्म शेयर बजारबाट पौने तीन अर्ब रुपैयाँ पुँजीगत लाभकर उठाएको छ । 

लगानीकर्ताले साउनदेखि माघ मसान्तसम्म सरकारलाई दुई अर्ब ८६ करोड ६० लाख २६ हजार ८०६ रुपैयाँ बराबरको पुँजीगत लाभकर बुझाएका हुन् ।

उक्त  रकम गत आवको सोही अवधिको तुलनामा ८१.३९ प्रतिशतले बढी हो । गत आवको साउनदेखि माघ महिनासम्म सरकारले १ अर्ब ५८ करोड रुपैयाँ पुँजीगत लाभकर उठाएको थियो । 

यस अवधिमा संस्थागत लगानीकर्ता र स्टक डिलरले २९ करोड २५ लाख ३ हजार ३५३ रुपैयाँ लाभकर तिरेको सिडिएसले जनाएको छ । त्यस्तै व्यक्तिगत अल्पकालीन कारोबारी र दीर्घकालीन लगानीकर्ताले २ अर्ब ५७ करोड ३५ लाख २३ हजार ४५३ रुपैयाँ लाभकर बुझाएका छन् ।

लामो समयदेखि शेयर बजारमा आएको उतारचढावसँगै घट्दै गएको पुँजीगत लाभकर मंसिरदेखि फेरी बढ्न थालेको होे । नेप्से परिसूचक नबढेपनि कारोबार रकममा सुधार देखिएपछि पुँजीगत लाभकरमा पनि वृद्धि भएको सिडिएसले जनाएको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार माघ महिनामा मात्रै सरकारले पूँजीगत लाभकरबाट ९७ करोड २० लाख ९३ हजार रुपैयाँ उठाएको छ । 

त्यस्तै माघमा व्यक्तिगत दीर्घकालीन कारोबारीले १६ करोड ३१ लाख ५७ हजार ७०८ रुपैयाँ लाभकर तिरेका छन् । पुसमा दीर्घकालीन लगानीकर्ताबाट १७ करोड २८ लाख ९९ हजार ८३५ रुपैयाँ, मंसिरमा ९ करोड २४ लाख ३१ हजार ५८९ रुपैयाँ, कात्तिकमा २ करोड ६९ लाख १८ हजार रुपैयाँ संकलन भएको छ ।

त्यस्तै असोजमा ५ करोड ५१ लाख ६० हजार, भदौमा ५ करोड ६७ लाख ६२ हजार रुपैयाँ र साउनमा १० करोड १५ लाख ८५ हजार रुपैयाँ मात्र पुँजीगत लाभकर संकलन भएको छ ।

यस्तै अल्पकालीन लगानीकर्ताले माघमा ७४ करोड १३ लाख ८७ हजार ५२९ रुपैयाँ लाभकर तिरेका हुन् । पुसमा २२ करोड ४४ लाख ७२ हजार १८७ रुपैयाँ मंसिरमा १४ करोड १४ लाख ६४ हजार १२१ रुपैयाँ तिरेका थिए ।

यसैगरी कात्तिकमा ४ करोड ६० लाख ४१ हजार, असोजमा १४ करोड ९८ लाख ३३ हजार, भदौमा ७ करोड ६६ लाख ५ हजार र साउनमा २२ करोड ४७ लाख १२ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् ।

त्यसैगरी संस्थागत लगानीकर्ताबाट पनि माघमा ६ करोड ७४ लाख ५८ हजार ५३५ रुपैयाँ लाभकर तिरेका छन् । पुसमा ४ करोड ६५ लाख ४१ हजार २०६ रुपैयाँ,  मंसिरमा ७ करोड १४ लाख २९ हजार ७२ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको सीडीएसले जनाएको छ ।

संस्थागत लगानीकर्ताले कात्तिकमा १ करोड ११ लाख रुपैयाँ असोजमा एक करोड ४५ लाख ८५ हजार रुपैयाँ, भदौमा ६७ लाख रुपैयाँ र साउनमा सात करोड ४५ लाख ९४ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएको सिडिएसको तथ्यांकमा उल्लेछ ।

कुन महिनामा कति उठ्यो पुँजीगत लाभकर

सिडिएसका अनुसार सरकारले चालु आवको साउनमा शेयर बजारबाट ४० करोड ८ लाख ९१ हजार ७८६ रुपैयाँ पुँजीगत लाभकर उठाएको थियो । 

त्यस्तै, लगानीकर्ताहरुले भदौमा सरकारलाई १४ करोड ६९ हजार रुपैयाँ र असोजमा २१ करोड ९५ लाख ७९ हजार रुपैयाँ र कात्तिकमा ८ करोड ४१ लाख ५४ हजार ५६६ रुपैयाँ, मंसिरमा ३० करोड ५३ लाख २४ हजार ७८३ रुपैयाँ र पुसमा ७४ करोड ३९ लाख १३ हजार २२९ रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् ।

शेयर खरिद बिक्रीमा पुँजीगत लाभकरको नयाँ व्यवस्था अनुसार सरकारले शेयर कारोबारमा अल्पकालीन लगानीकर्तालाई साढे सात प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई पाँच प्रतिशत पुँजीगत लाभकर उठाउँदै आएको छ । 

Advertisment