Below Menu
Below Menu

सात महिनामा थपियो ९१ अर्ब ३४ करोड सार्वजनिक ऋण

सात महिनामा थपियो ९१ अर्ब ३४ करोड सार्वजनिक ऋण

काठमाडौं : नेपालको सार्वजनिक ऋण करिब २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार माघ मसान्तसम्म देशको सार्वजनिक ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो ।

गत असार मसान्तसम्म २२ खर्ब ९९ अर्ब २५ करोड रहेको सार्वजनिक ऋण चालु आवको छ महिना अर्थात माघ मसान्तसम्म आइपुग्दा ९१ अर्ब ३४ करोड रुपैयाँ थपिएको हो ।

यस अवधिसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ भने बाह्य ऋण १२ खर्ब २ अर्ब २४ करोड रुपैयाँ रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

चालु आवको पहिलो सात महिनामा सरकारले लिएको कुल सार्वजनिक ऋण २ खर्ब २ अर्ब ४३ करोड रूपैयाँ रहेको छ । जसमा आन्तरिक ऋण एक खर्ब ५० अर्ब ३१ करोड रुपैयाँ रहेको छ भने बाह्य ऋण ५२ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।

माघ मसान्तसम्म सरकारले आन्तरिक र बाह्य ऋणको साँवावापत एक खर्ब ११ अर्ब १० करोड रूपैयाँ भुक्तानी पनि गरेको छ । सरकारले आन्तरिक तर्फको ९० अर्ब ९७ करोड र बाह्य तर्फको २० अर्ब १२ करोड रुपैयाँ बराबरको साँवा भुक्तानी गरेको हो । 

कार्यालयका अनुसार माघ मसान्तसम्म महिनामा आन्तरिक ऋणकोे ब्याज भुक्तानीमा ३९ अर्ब १४ करोड रूपैयाँ खर्च भएको छ भने बाह्य ऋणको ब्याज भुक्तानी गर्न ५ अर्ब करोड रूपैयाँ खर्च भएको छ ।
 

Advertisment

थप समाचार