काठमाडौं : बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको छ महिनामा बीमा अभिकर्ता कमिशनमा सवा ६ अर्ब रुपैयाँ खर्र्चिएका छन् । हाल सञ्चालनमा रहेका २८ बीमा कम्पनीहरुले पुस मसान्तसम्म अभिकर्ता कमिशन वापत ६ अर्ब २६ करोड २५ लाख रुपैयाँ खर्चिएका हुन् ।
उक्त रकम गत वर्षको सोही अवधिका तुलनामा १२ करोड ३४ लाख रुपैयाँले बढी हो । गत आवको पुस मसान्तसम्म बीमा कम्पनीहरुले अभिकर्ता कमिशनका लागि ६ अर्ब १३ करोड ९१ लाख रुपैयाँ खर्च गरेका थिए ।
पुस मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार जीवन बीमा कम्पनीहरुले ५ अर्ब ९७ करोड ४२ लाख रुपैयाँ अभिकर्ताका लागि खर्च गरेका छन् भने निर्जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिशनमा २८ करोड ८३ लाख रुपैयाँ खर्च गरेका छन् ।
यस अवधिमा निर्जीवन बीमा कम्पनीतर्फ अधिकांश कम्पनीहरुले यस्तो खर्च बढाएका छन् भने जीवन बीमा कम्पनीतर्फ भने धेरै कम्पनीले अभिकर्ता कमिशन वापतको खर्च घटाएका छन् ।
नौ जीवन बीमा कम्पनीले घटाए कमिशन खर्च
गत वर्ष अभिकर्ता कमिशनमा ५ अर्ब ९० करोड ९५ लाख रुपैयाँ खर्चिएका बीमा कम्पनीहरुमध्ये यस वर्ष नौ कम्पनीले यस्तो खर्च घटाएका छन् । जसमा हिमालयन लाइफले ८.०३ प्रतिशतले घटाएको छ भने नेपाल लाइफ २.९८ प्रतिशतले यस्तो खर्च घटाएको छ ।
त्यसैगरी पुस मसान्तसम्म सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीले अभिकर्ता कमिशन वापत ९ करोड ९ लाख रुपैयाँ खर्च गरेको छ । जुन गत वर्षको तुलनामा ०.३७ प्रतिशतले कम हो । त्यस्तै सन नेपाल लाइफले पनि अभिकर्ता कमिशन वापतको खर्च ९.८० प्रतिशतले घटाएको छ ।
त्यसैगरी यस अवधिमा अभिकर्ता कमिशनको खर्च घटाउने अन्य कम्पनीमा रिलायबल नेपाल लाइफ, एशियन लाइफ र लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । उक्त कम्पनीको यस्तो खर्च क्रमशः ११.८७ प्रतिशत, ८.४५ प्रतिशत र ७.१६ प्रतिशतले घटेको हो ।
प्रकाशित वित्तीय विवरण अनुसार गत वर्ष २२ करोड ४६ लाख रुपैयाँ अभिकर्ता कमिसनमा खर्चिएको आईएमई लाइफ इन्स्योरेन्सले यस अवधिमा यस्तो खर्च ९.०१ प्रतिशतले घटाएको छ भने सिटिजन लाइफलले १९.६१ प्रतितशले खर्च घटाएको छ ।
निजीवन बीमा कम्पनीले बढाए २५ प्रतिशत कमिशन खर्च
अधिकांश जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिशनको रकम घटाउँदा यता निर्जिवन बीमा कम्पनीहरुले भने गत वर्षको तुलनामा २५.५९ प्रतिशतले बढाएका छन् ।
गत वर्ष २२ करोड ९६ लाख रुपैयाँ अभिकर्ता कमिसनका लागि खर्चिएका कम्पनीले यस वर्ष २८ करोड ८३ लाख रुपैयाँ खर्चिएका छन् । यस अवधिमा दश कम्पनीले यस्तो खर्च बढाएका छन् भने चार कम्पनीले घटाएका छन् ।
वित्तीय रिपोर्ट अनुसार यस अवधिमा सानिमा जिआईसीले सबैभनदा बढी २५.६५ प्रतिशतले कमिसन खर्च घटाएको छ भने नेपाल इन्स्योरेन्सले २०.७५ प्रतिशतले घटाएको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्सले १५.९५ प्रतिशत र नेको इन्स्योरेन्सले ११.२५ प्रतिशतले कमिसन खर्च घटाएको छ ।
यस अवधिमा युनाइटेड अजोड इन्स्योरेन्सले सबैभन्दा बढी १९३.०८ प्रतिशतले कमिसन खर्च बढाएको छ भने आईजीआई प्रुडेसिन्सयलले ८९.९४ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीले ५५.०२ प्रतिशत र ओरियन्टल इन्स्योरेन्सले ८४.८६ प्रतिशतले यस्तो खर्च बढाएका छन् ।
बीमा कम्पनीका अभिकर्ताले बीमालेख बिक्री गरेवापत कमिसन पाउने गर्छन् । जीवन बीमा कम्पनीमा अभिकर्ताहरुले पहिलो वर्ष प्रिमियमको २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत, त्यसपछि ८ वर्षसम्म प्रिमियमको ५ प्रतिशतका दरले कमिसन प्रदान गरिन्छ ।
बीमा अभिकर्ताले पाउने कमिसन उनीहरुले बिक्री गरेको पोलिसीको प्रकार र त्यसको संख्याको आधारमा निर्धारण हुने गर्छ ।
Advertisment