काठमाडौं : पछिल्लो समय जीवन बीमा कम्पनीहरुको व्यापारमा उल्लेख्य वृद्धि भएको पाईएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो भने एक महिनामै कम्पनीहरुको व्यवसाय साढे १२ अर्ब रुपैयाँ बढेको देखिएको छ ।
गत पुस मसान्तको तुलनामा माघ मसान्तसम्म १२ अर्ब ६६ करोड २ लाख रुपैयाँले व्यवसाय बढाएका हुन् । पुस मसान्तसम्म बीमा कम्पनीहरुले एक करोड ३७ लाख ४१ हजार ३५५ बीमालेख बिक्री गरी १२ अर्ब ४७ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।
प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको सात महिना अर्थात माघ मसान्तसम्म जीवन बीमा कम्पनीहरुले साढे ८६ अर्बको व्यापार गरेका छन् । यस अवधिमा कम्पनीहरुले एक करोड ३७ लाख ७३ हजार ३१५ बीमालेख बिक्री गरी ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।
एक महिना उठाए साढे १२ अर्ब बीमाशुल्क
कम्पनीहरुले चालु आवको माघ महिनामा मात्रै १२ अर्ब बढीको बीमा व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले चार लाख ४८ हजार ६६६ बीमालेख बिक्री गरी १२ अर्ब ६६ करोड २ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।
जबकी गत पुसमा कम्पनीहरुले चार लाख ४२ हजार ६०६ बीमालेख बिक्री गरी १२ अर्ब ४७ करोड ३५ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका थिए ।
सर्वाधिक व्यापार गर्ने नेपाल लाइफ
यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । प्राधिकरणका अनुसार माघ मसान्तसम्म यस कम्पनीले १२ लाख ६२ हजार ६६१ बीमालेख बिक्री गरी २३ अर्ब २० करोड ७४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।
गत पुस मसान्तको तुलनामा कम्पनीको व्यापार १५.९० प्रतिशत अर्थात ३ अर्ब १८ करोड ४३ लाख रुपैयाँले बढी हो । पुस मसान्तसम्म कम्पनीले १२ लाख ३५ हजार ६१६ बीमालेख जारी गरी २० अर्ब २ करोड ३१ लाख रुपैयाँको व्यापार गरेको थियो ।
अन्य कम्पनीको व्यवसाय
यस अवधिमा राष्ट्रिय बीमा संस्थानले ५ लाख ७१ हजार ३३२ बीमालेख बिक्री गरी चार अर्ब ९८ करोड १९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै चालु आवको माघ मसान्तसम्म नेशनल लाइफले १५ लाख ९७ हजार ७१२ बीमालेख जारी गरी १० अर्ब ५ करोड २७ लाख रुपैयाँ बीमाशुृल्क संकलन गरेको छ भने लाइफ इन्स्योरेन्स कम्पनीले पनि १० अर्ब १४ करोड ६९ लाख रुपैयाँको व्यापार गरेको छ ।
माघ मसान्तसम्म मेट लाइफले तीन अर्ब १४ करोड २५ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, एशियन लाइफले चार अर्ब ४३ करोड ५९ लाख, आईएमई लाइफले दुई अर्ब ५० करोड १९ लाख रुपैयाँ र सन नेपाल लाइफले दुई अर्ब १२ करोड १४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।
प्राधिकरणको तथ्यांक अनुसार माघ मसान्तसम्ममा अधिकांश बीमा कम्पनीहरुको व्यापार बढेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ३१ लाख ९५ हजार ३४३ बीमालेख बिक्री गरी दुई अर्ब ३० करोड ९९ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
यस अवधिमा सिटिजन लाइफले तीन अर्ब २६ करोड ६२ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ५ अर्ब ३ करोड २२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले तीन अर्ब ३८ करोड २६ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
त्यसैगरी यस अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सले नौ अर्ब ९१ करोड ३४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने प्रभु महालक्ष्मी लाइफले दुई अर्ब ३८ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
लघुबीमाको व्यवसाय चार करोडमाथि
प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । माघ मसान्तसम्म कम्पनीहरुले २० हजार ८२२ बीमालेख जारी गरी चार करोड २२ लाख ६५ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।
यस अवधिमा गार्डियन माइक्रो लाइफले सात हजार ४८६ बीमालेख जारी गरी एक करोड १५ लाख २३ हजार रुपैयाँ, केष्ट माइक्रो लाइफले १२ हजार ६३ बीमालेख जारी गरी दुई करोड ५८ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले एक हजार २७३ बीमालेख जारी गरी २८ लाख ७२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
Advertisment