Below Menu

व्यापार विस्तारमा निर्जीवन बीमाको फड्को, सात महिनामा उठाए साढे २२ अर्ब 

व्यापार विस्तारमा निर्जीवन बीमाको फड्को, सात महिनामा उठाए साढे २२ अर्ब 

काठमाडौं : आर्थिक शिथिलताका बाबुजुद पनि निर्जीवन बीमा कम्पनीको व्यापारमा उल्लेख्य विस्तार भएको पाइएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्या‌क हेर्ने हो भने पनि एक महिनामा बीमा कम्पनीहरुले २ अर्ब ९९ करोड ६२ लाख रुपैयाँले व्यवसाय बढाएका छन्। 

चालु आर्थिक वर्षको माघ मसान्तसम्म हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले २२ अर्ब भन्दा बढीको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पानीहरुले १६ लाख ७१ हजार १०६ बीमालेख बिक्री गरी २२ अर्ब ३९ करोड २२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

उक्त रकम गत पुस मसान्तको तुलनामा १५.४४ प्रतिशतले बढी हो । पुस मसान्तसम्ममा कम्पनीहरुले १४ लाख २१ हजार ७६ बीमालेख बिक्री गरी १९ अर्ब ३९ करोड ६० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

प्राधिकरणका अनुसार यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा एक लाख ७८ हजार ९१२ बीमालेख बिक्री गरी २ अर्ब ८९ करोड ५६ लाख रुपैयाँ बराबरको व्यापार गरेको हो ।

त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) रहेको छ । कम्पनीले यस अवधिमा एक लाख ७८ हजार ९३४ बीमालेख बिक्री गरी दुई अर्ब ६७ करोड २१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले एक लाख ७२ हजार ४७४ बीमालेख बिक्री गरी दुई अर्ब २६ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ

त्यसैगरी माघ मसान्तसम्म नेको इन्स्योरेन्सले एक अर्ब ८७ करोड ४१ लाख,  हिमालयन एभरेष्टले एक अर्ब ८६ करोड ८७ लाख रुपैयाँ, आईजीआई प्रुडेसिन्यलले एक अर्ब ९३ करोड ९५ लाख, युनाइटेड अजोडले एक अर्ब ५२ करोड ३२ लाख, एनएलजीले एक अर्ब ४३ करोड ९२ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले एक अर्ब ८ करोड ४९ लाख रुपैयाँ बराबरको बीमाशुलक संकलन गरेका छन् ।

चार कम्पनी पुगेनन् अर्ब क्लबमा

बजारमा आर्थिक गतिविधि सुस्त हुँदा बीमा कम्पनीहरुको विजनेश पनि घट्दै गएको हो । केही सिमित कम्पनीले अर्ब भन्दा माथिको व्यवसाय गर्दा चार कम्पनी अझै अर्ब क्लवमा पुग्न सकेका छैनन् ।

माघ मसान्तसम्म नेपाल इन्स्योरेन्सले ८७ करोड ३७ लाख २४ हजार रुपैयाँ, नेशनल इन्स्योरेन्स कम्पनीले ६९ करोड ४४ लाख ८९ हजार रुपैयाँ, दि ओरियन्टलले ९३ करोड ७० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

यस अवधिमा राष्ट्रिय बीमा कम्पनीले एक लाख १२ हजार ९३६ बीमालेख बिक्री गरी ९७ करोड ३४ लाख २८ हजार रुपैयाँ बीमाशुल्क उठाएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

सात करोड नाघ्यो लघुबीमाको व्यापार

माघ मसान्तसम्ममा निर्जीवन बीमा अन्तर्गतका तीन लघुबीमा कम्पनीहरुले सात अर्ब बढीको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले ३१ हजार ८८१ बीमालेख जारी गरी सात करोड ५ लाख ६३ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।

यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले तीन करोड ६५ लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले दुई करोड ३२ लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले एक करोड सात लाख रुपैयाँ बराबरको व्यवसाय गरेकोे हो । 


 

थप समाचार