काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा बजार पुँजीकरण ३३ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा यस्तो देखिएको हो ।
राष्ट्र बैंकका अनुसार माघ मसान्तमा धितोपत्र बजार पुँजीकरण ३३ खर्ब २ अर्ब ८४ करोड कायम भएको छ । गत आवको माघ मसान्तमा बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब ९६ करोड रहेको थियो ।
गत आवको माघ मसान्तमा २१२१.८७ रहेको नेप्से सूचकाङ्क २०८० माघ मसान्तमा २१०१.१६ कायम भएको छ । यस अवधिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ ।
सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् ।
गत आवको माघमा सूचीकृत कम्पनीहरूको संख्या २४६ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत, होटेलको हिस्सा ३.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.५ प्रतिशत रहेको छ ।
नेप्सेमा माघ मसान्तमा सूचीकृत ८ अर्ब २१ करोड शेयरको चुक्ता मूल्य रु.८१३ अर्ब ५९ करोड रहेको छ । चालु आवको सात महिनामा रु.६५ अर्ब ८६ करोड साधारण शेयर, १० अर्ब ५९ करोड बोनस शेयर, रु.६ अर्ब १० करोड हकप्रद शेयर र रु.३ करोड एफपीओ गरी कुल रु.८२ अर्ब ५७ करोड थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.९ अर्ब ८१ करोड बराबरको साधारण शेयर, रु.६ अर्ब २ करोड डिबेन्चर, रु.५ अर्ब ४६ करोड हकप्रद शेयर र रु.३ अर्ब ५० करोड म्युचुअल फण्ड गरी कुल रु.२४ अर्ब ७८ करोड धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
Advertisment