Below Menu
Below Menu

पुष्प व्यवसायीको गुनासोः ‘लगानीको वातावरण नबन्दा उत्पादन बढेन’  

पुष्प व्यवसायीको गुनासोः ‘लगानीको वातावरण नबन्दा उत्पादन बढेन’  

काठमाडौं : मुलुकमा लगानीको वातावरण नबन्दा पुष्प व्यवसाय फस्टाउन नसकेको पुष्प व्यवसायीले गुनासो गरेका छन् । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले यस क्षेत्रमा लगानीको वातावरण आवश्यक रहेको गुनासो गरेका हुन् । 

सोमबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले भने, ‘स्वदेशमा उत्पादन बढाउन राज्यले सहयोग गरेन । सरकारले फूल उत्पादनमा सहयोग गरेन । करदेखि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेसम्मको समस्या हामीले झेलिरहेका छौँ । पुष्य व्यवसायीलाई राज्यले आवश्यक सहयोग गरेको छैन ।’

उनले ५० लाख भन्दा बढीको कारोबार गर्ने व्यवसायीले भ्याट तिर्नुपर्ने समस्या रहेको उनले गुनासो गरे । तिर्नुपर्ने थ्रेसहोल्ड हटाउन माग गर्दै यसका लागि लबिङ गरिरहेको समेत उनले बताए । आगामी आर्थिक विधेयकमा अर्थ मन्त्रालयले पुष्प व्यवसायीका समस्यालाई सम्बोधन गरिनुपर्ने माग गर्दै उनले थ्रेस होल्डको व्यवस्था हट्नुपर्ने बताए । 

उनका अनुसार २०७४ देखि पुष्प प्रवर्द्धन नीति कार्यान्वयनमा छैन । यो नीतिलाई तीनै तहको सरकारले परिमार्जन गर्नुपर्छ भनेर व्यवसायीहरूले माग गरिरहेका छन् । यो नीति पुनरलेखको क्रममा रहेकोले यो कार्यान्वयन गर्न सकिएमा राम्रो हुने उनको अपेक्षा छ । 

‘व्यवसायीका समस्या धेरै छन् । गत आर्थिक वर्षदेखि पुष्पजन्य वस्तुमा सरकारले भ्याट लगाएको अवस्था छ । ५० लाख भन्दा बढी कारोबार गर्ने जुनसुकै व्यवसायीहरू पनि भ्याटमा जानु पर्ने बाध्यता छ । यो बाध्यताका कारण बजारमा दुई वटा मूल्य समेत कायम भएको छ । यो थ्रेसहोल्ड हट्नु पर्छ’, उनले भने ।

अध्यक्ष तामाङका अनुसार हाल पुष्प व्यवसाय गर्ने व्यवसायीहरू एक हजार ११६ रहेका छन् । सरकारले लगानीको वातावरण बनाउन नसक्दा ठूला घरानाका व्यवसायीहरू यस क्षेत्रमा आउन नसकेको उनको भनाई छ ।

‘‘पुष्प व्यवसायलाई विस्तार गर्न सरकारले नीतिगत रूपमा धेरै सुधार गर्न आवश्यक छ । व्यवसायीका मागहरू सम्बोधन हुन सकेका छैनन् । लगानीको वातावरण बन्न नसक्दा ठूला घरानाका व्यवसायीहरू यो क्षेत्रमा आउन सकेका छैनन्’, उनले भने ।

हरेक वर्षको नेपालको पुष्प मेलाको आयोजना भए पनि बजारीकरणका समस्या भने उस्तै छन् । यसका साथै स्वदेशी उत्पादनलाई प्राथमिकता नदिँदा तिहार लगायतका चाडपर्वहरूमा हरेक वर्ष भारतबाट फूलको आयात गर्नुपर्ने अवस्था रहेको छ ।

यस्तो छ पुष्प व्यवसायको अवस्था

नेपालमा विस २०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसाय सुरु भएको इतिहास रहेको छ । यस पछि पुष्प व्यवसायले बिस्तारै गति लिएको थियो । २०४९ साल ताकासम्म लगभग जम्मा ८० को सङ्ख्यामा मात्रै नर्सरी व्यवसायीहरू रहेको थियो ।

२०४९ सालमा संस्थागत रूपमा फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को स्थापना भए पश्चात मात्र पुष्पको व्यवसायीको विकास, बिस्तार र प्रवर्द्धनले गति लिएको हो । हाल बढ्दो सहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य सहरहरू लगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैलँदो अवस्थामा रहेको छ ।

हरेक वर्ष व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५० को हाराहारीमा रहँदै आएकोमा विगत केही वर्ष कोभिड महामारीका कारण नकारात्मक असर पर्न गई खुम्चिन पुगेको थियो ।

तर पुनः आव २०७९/८० देखि पुष्प व्यवसायले गति लिएको छ । हाल ४८ जिल्लामा लगभग २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ । १११६ भन्दा बढी ९नर्सरी–५०५, कट फेलावर उत्पादक–८०, कट फ्लावर खुद्रा व्यवसायी–१३७, पुष्प थोक व्यवसायी–४, ईनपुट सप्लायर्स–२५ र लुज फ्लावर उत्पादक ३६५० पुष्प व्यवसायीमा संलग्न रहेको छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरेर ४४,००० भन्दा बढी जनशक्तिहरू रोजगार रहेको छ ।

आव २०७५/७६ मा पुष्पको वार्षिक कारोबार २ अर्ब ४२ करोड रहेकोमा आव २०७६/०७७ र आव ०७७/७८ मा वर्षैभरि कोभिड–१९ महामारीको कारण भएको निषेधाज्ञा र लकडाउनले गर्दा व्यावसायिक कारोबारमा को कमी आई जम्मा एक अर्ब ६३ करोड मात्र भएको थियो ।

तथापि आव २०७८/०८९ मा कोभिड–१९ को असर केही कम करिब तुलनामा हुँदा समग्र व्यवसायीको तथा आर्थिक क्षेत्रहरू केही चलायमान र सुधारोन्मुख हुँदा आव २०७७/०७८ को तुलनामा ३० प्रतिशतले पुष्पको वार्षिक कारोबारमा वृद्धि भई २ अर्ब ३० करोड हाराहारीमा कारोबार भएको थियो भने ०७९/८० मा ३ अर्ब ७ करोड भन्दा बढीको कारोबार भएको छ । आव २०७८/०७९ को तुलनामा यस आर्थिक वर्ष ०७९/८० मा करिब ३३.६३ प्रतिशतले वार्षिक कारोबारमा वृद्धि भएको छ ।

यही आव ०७९/८० मा पुष्प तथा पुष्पजन्य बस्तुको निर्यात ६८ लाख १८  हजार  र आयात तर्फ भने ३३ करोड ६ लाख ४८  हजार रुपैयाँ बराबरको कारोबार भएको भन्सार विभागको तथ्याङ्क रहेको छ ।

एक्स्पोले राहत मिल्ने आश

फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले हरेक वर्ष हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रिय स्तरको पुष्प मेला÷प्रदर्शनीको आयोजना गर्दै आइरहेको छ । पुष्प व्यवसायको विकास, बिस्तार तथा प्रवर्द्धनको लागि यस वर्ष पनि काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हल २५ औँ फ्लोरा एक्स्पोको आयोजना गर्न लागिएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा आगामी चैत्र १ देखि ४ गतेसम्म ४ दिने उक्त मेलाको आयोजना गरिने भएको छ । यो एक्स्पोले व्यवसायीलाई राहत मिल्ने आश गरिएको अध्यक्ष तामाङले बताए । 

‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराको साथ मेलाको आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीन बहादुर तामाङले जानकारी दिए । 

उक्त मेलाले पुष्प उद्यमी÷व्यवसायी÷कम्पनीहरूको लागि आफूले उत्पादन गरेको पुष्प तथा पुष्पजन्य बस्तुको राष्ट्रिय स्तरमा प्रचार–प्रसार गरी बजार बिस्तार गर्न सहयोग पुग्ने अध्यक्ष तामाङको भनाई छ ।     

Advertisment

थप समाचार