काठमाडौं : चालु आर्थिक वर्षको आठ महिनामा नेपालले नौं खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकले ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।
गत वर्षको तुलनामा व्यापार घाटा २.५२ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा नेपालले ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।
फागुनसम्म नेपालले ११ खर्ब ३० अर्ब ८४ करोड एक लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा ११ खर्ब ६३ अर्ब १८ करोड १७ रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
यस अवधिमा आयात र निर्यात दुवै घटेको छ । फागुनमा आयात २.६६ प्रतिशत र निर्यात ३.९९ प्रतिशतले घटेको हो । फागुन मसान्तसम्म करिब सवा १० खर्र्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ ।
विभागका अनुसार यस अवधिमा १० खर्ब ३० अर्ब २२ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
यस अवधिमा एक खर्ब ६१ करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष एक खर्ब ४ अर्ब ७९ करोड ६१ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो ।
Advertisment