काठमाडौं : ग्लोबल मनी विक २०२४ को अवसरमा नेचुरल बचत तथा ऋण सहकारी संस्थाले वित्तीय साक्षरताका कार्यक्रम सम्पन्न गरेको छ । नयाँ बजार सेवा केन्द्र अन्तर्गतका सदस्यहरुको सहभागितामा संस्थाले वित्तीय साक्षरता कार्यक्रम आज (शुक्रबार) सम्पन्न गरेको हो ।
बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि हरके वर्ष ग्लोबल मनी विक (Global Money Week) विश्वभर मनाउने गरिएको छ । २०२४ मार्च १८–२४ (चैत ५–११, २०८०) मा ‘Protect Your Money, Secure your Future’ भन्ने नाराका साथ Global Money Week को १२ औं शृङ्खला जारी छ । नेपालमा राष्ट्र बैंकको संयोजनमा यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरी ग्लोबल मनी विक मनाई रहेको छ ।
सोही क्रममा संस्थाले वित्तीय साक्षरताको कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा करिब ३ सय सदस्यहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा संस्थाका सचिव विकल्प पाठकले संस्थाको वर्तमान वित्तीय अवस्था, सदस्यहरु बीच जारी गरेको विभिन्न योजना, आगामी कार्ययोजना, संस्थामा सदस्यहरुको भूमिका, बचतको आवश्यकता र महत्व, कर्जाको सदुपयोगिता, डिजिटल बैंकिङ्ग, वित्तीय अनुशासन, संस्थाले सदस्यलाई प्रदान गर्दै आएको सेवाहरुका बारेमा जानकारी गराएका थिए । त्यस्तै वृतचित्रमार्फत संस्थाले गरेको गतिविधिलाई सदस्यहरु माझ प्रस्तुत गरिएको थियो ।
यसका साथै सदस्यहरु बीच अन्तरक्रिया पनि गरिएको थियो । सदस्यहरुले संस्थाले प्रदान गर्ने सेवा तथा सुविधाहरुको बारेमा जिज्ञासा राखेका थिए । सदस्यहरुबाट आएको जिज्ञासालाई संस्थाका सचिव विकल्प पाठक र व्यवस्थापनले जवाफ दिएका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष शर्मिला अमात्य, सञ्चालक समिति, लेखा समिति सुपरीवेक्षण समितिका पदाधिकारीहरु, सल्लाहकार, उच्च व्यवस्थापनका कर्मचारीहरूको पनि उपस्थिती रहेको थियो ।
Advertisment