Below Menu
Below Menu

आठ महिनामा निर्जीवन बीमा कम्पनीले गरे सवा २६ अर्बको व्यापार ! 

आठ महिनामा निर्जीवन बीमा कम्पनीले गरे सवा २६ अर्बको व्यापार ! 

काठमाडौं : चालु आर्थिक वर्षको आठ महिनामा निर्जीवन बीमा कम्पनीहरुले सवा २६ अर्बको व्यापार गरेका छन् । आर्थिक शिथिलताका बाबुजुद पनि बीमा कम्पनीको व्यापारमा उल्लेख्य वृद्धि भएको पाइएको हो ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथयांक हेर्ने हो भने पनि एक महिनामा बीमा कम्पनीहरुले तीन अर्ब ६४ करोड ८३ लाख रुपैयाँले व्यवसाय बढाएका छन् । 

चालु आवको फागुन मसान्तसम्म हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले १९ लाख १६ हजार ६६६ बीमालेख बिक्री गरी २६ अर्ब १६ करोड ५० लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । 

गत माघ मसान्तको तुलनामा कम्पनीहरुको व्यापार १६.२० प्रतिशतले बढेको हो । माघ मसान्तसम्म कम्पनीहरुले १६ लाख ७१ हजार १०६ बीमालेख बिक्री गरी २२ अर्ब ३९ करोड २२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका थिए । 

प्राधिकरणका अनुसार यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा दुई लाख ८ हजार २४५ बीमालेख बिक्री गरी तीन अर्ब ७१ करोड ८७ लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । 

त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) रहेको छ । कम्पनीले यस अवधिमा एक लाख ९६ हजार ५६५ बीमालेख बिक्री गरी तीन अर्ब ४ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दुई लाख ३ हजार ५६५ बीमालेख बिक्री गरी दुई अर्ब ५६ करोड ११ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

त्यसैगरी फागुन मसान्तसम्म नेको इन्स्योरेन्सले दुई अर्ब ११ करोड ९१ लाख,  हिमालयन एभरेष्टले दुई अर्ब ८ करोड ९१ लाख रुपैयाँ, आईजीआई प्रुडेसिन्यलले दुई अर्ब ३० करोड २३ लाख, युनाइटेड अजोडले एक अर्ब ७४ करोड २३ लाख, एनएलजीले एक अर्ब ६२ करोड ७ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले एक अर्ब २० करोड १७ लाख रुपैयाँ बराबरको बीमाशुलक संकलन गरेका छन् । 

यस अवधिमा दि ओरियन्टलले एक अर्ब १८ करोड २४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने राष्ट्रिय बीमा कम्पनीले एक लाख ३४ हजार ४४७ बीमालेख बिक्री गरी एक अर्ब २६ करोड २० लाख १६ हजार रुपैयाँ बीमाशुल्क उठाएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

दुई कम्पनी पुगेनन् अर्ब क्लबमा

बजारमा आर्थिक गतिविधि सुस्त हुँदा बीमा कम्पनीहरुको विजनेश पनि घट्दै गएको हो । केही सिमित कम्पनीले अर्ब भन्दा माथिको व्यवसाय गर्दा तीन कम्पनी अझै अर्ब क्लवमा पुग्न सकेका छैनन् ।

फागुन मसान्तसम्म नेपाल इन्स्योरेन्सले ९९ करोड ४७ लाख ६ हजार रुपैयाँ, नेशनल इन्स्योरेन्स कम्पनीले ७६ करोड १३ लाख ९२ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।

लघुबीमाको व्यापार १० करोडमाथि

फागुन मसान्तसम्ममा निर्जीवन बीमा अन्तर्गतका तीन लघुबीमा कम्पनीहरुले दश करोड बढीको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले ४५ हजार ३५८ बीमालेख जारी गरी दश करोड ३३ लाख ६२ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।

यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले चार करोड ९० लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले तीन करोड ४८ लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले एक करोड ९४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेकोे हो । 


 

Advertisment

थप समाचार