Below Menu
Below Menu

‘बैंकहरुले तथ्यांकमा मात्रै घटाए ब्याजदर’

‘बैंकहरुले तथ्यांकमा मात्रै घटाए ब्याजदर’

काठमाडौं : राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा मार्फत ब्याजदर घटाउने नीति लिएसँगै बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाइरहेका छन् ।चालु आर्थिक वर्षको सुरुदेखि नै वित्तीय प्रणालीमा तरलता थुप्रिदै गएको छ । पछिल्लो समय वाणिज्य बैंकहरुले ब्याजदर घटाएपनि कर्जा लगानी भने सुस्त देखिएको छ ।

अपेक्षाअनुसार ऋणको माग बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थाले निरन्तर रुपमा ब्याजदर घटाइरहेका छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता हुँदा पनि अपेक्षाअनुसार कर्जाको माग बढ्न नसकेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

बैंकहरुको ब्याजदर तथ्यांकमा मात्रै घट्यो 

चैत महिनामा पनि अधिकांश बैंकहरुको बेस रेट (आधार दर) पनि घटेको छ । आधार दर घटेसँगै कर्जाको ब्याजदर पनि घट्दो क्रममा छ । अधिक तरलताको थुप्रिदै गएपछि बैंकहरुले धमाधम निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको आधार दर पनि घटेको हो ।

आधार दरमा निश्चित प्रतिशत प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने गर्दछ । तसर्थ, आधार दर घट्दा कर्जाको ब्याजदर पनि घट्ने गर्छ । बै‌कहरुले ब्याजदर घटेको तथ्यांक सार्वजनिक गरेपनि व्यवहारमा लागु नभएको लगानीकर्ताहरुको गुनासो छ । 

 पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल व्यवहारिक रुपमा बैंकहरुले घटाएको ब्याजदर लागु् नभएको बताउँछिन् । उनी भन्छिन्, ‘बैंकहरुले घटाएको ब्याजदरको लाभ लगानीकर्ताले लिन सकेका छैनन्। व्यवहारिक रुपमा १३ प्रतिशत भन्दा माथि नै ब्याज छ । मुद्दती निक्षेपको ब्याज ६ प्रतिशतमा झारेको छ । तर, कर्जाको ब्याज भने चर्को नै छ ।’

निक्षेपको ब्याजदर घटे पनि कर्जाको ब्याजदर अझै उच्च रहेको निजी क्षेत्र भनाई छ । बैंकहरुको ब्याजदर तथ्यांकमा घटे पनि व्यवहारमा सोही अनुसार लागू नभएको व्यवसायीको गुनासो छ । 

तर, यता बैंकरहरुले भने कर्जाको ब्याजदर थप घट्दै जाने बताउँछन् । कर्जाको ब्याजदर निरन्तर घट्न थालेको बताउँदै यसले निरन्तरता दिने बैंकरहरुको भनाई छ । 

बैंकहरुको आधार दर, कुनको कति ? 

गत फागुन महिनाको तुलनामा बैंकहरुको आधार दर चैतमा औसतमा ०.२१ प्रतिशत विन्दुले घटेको छ । चैतमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.०५ प्रतिशत कायम भएको छ । यसअघि गत फागुनमा २० वाणिज्य बैंकहरुको औसत आधार दर ९.३४ प्रतिशत थियो ।

यस अवधिमा अधिकांश बैंकहरुको आधारदर एकल अंकमा झरेको छ भने कुमारी र प्राइम कमर्सियल बैंकको बेसरेट १० प्रतिशत भन्दा माथि रहेको छ । चैतमा कुमारीको बेसरेट १०.०१ प्रतिशत र प्राइम कमसिर्यल बैंकको १०.०५ प्रतिशत रहेको छ । 

त्यस्तै यस अवधिमा हिमालयन बैंकको आधारदर ९.८५ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ९.६४ प्रतिशत, सिटिजनको ९.५८ प्रतिशत, एनएमबिको ९.४१ प्रतिशत र कृषि विकास बैंकको ९.३६ प्रतिशत रहेको छ । 

त्यसैगरी, माछापुच्छ्र्रे बैंकको आधारदर ९.२६ प्रतिशत, एनआईसी एशियाको ९.१३ प्रतिशत, नेपाल एसबिआईको ९.११ प्रतिशत, ग्लोबल आईएमईको ९.०९ प्रतिशत, प्रभु बैंकको ९.०६ प्रतिशत र सिद्धार्थ बैंकको बेसरेट ८.९८ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । 

चैतमा सानिमा बैंकको आधारदर ८.९७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाको ८.८१ प्रतिशत, नबिल बैंकको ८.६१ प्रतिशत, नेपाल बैंकको ८.५७ प्रतिशत एभरेष्टको ८.३९ प्रतिशत राष्ट्रिय वाणिज्य बैंकको ७.६२ प्रतिशत र स्टान्डर्ड चार्टर्ड आधार दर सबैभन्दा कम ७.५२ प्रतिशत रहेको छ । 
 

Sponsored Advertisment

Advertisment

थप समाचार