काठमाडौं : सरकारले नौं महिनामा साढे एक खर्बको बजेट घाटा व्यहोरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म मुलुकले एक खर्ब ५१ अर्ब ८७ करोड ५१ लाख बराबर बजेट घाटा व्यहोरेको हो ।
यस अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । लक्ष्यअनुसार राजस्व संकलन नभएको अवस्थामा सरकारी खर्च निरन्तर बढ्दा वित्त व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैतसम्म वार्षिक लक्ष्यको ५०.५२ प्रतिशत आम्दानी र ५१.५९ प्रतिशत खर्च भएको छ ।
चालु आवका लागि सरकारले कूल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजश्व उठाउने लक्ष्य लिएको छ । कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्ममा ७ खर्ब ४९ अर्ब ७९ करोड ७४ लाख बराबर राजश्व असुली भएको छ । यो वार्षिक लक्ष्यको ५०.५२ प्रतिशत बराबर हो ।
यस अवधिमा कर राजश्वतर्फ ५०.१६ प्रतिशत अर्थात् ६ खर्ब ५४ अर्ब ८७ करोड ३३ लाख उठेको छ । गैरकरतर्फ वार्षिक लक्ष्यको ५९.७४ प्रतिशत अर्थात् ६९ अर्ब ९२ करोड २४ लाख बराबर असुली भएको छ ।
चालु आवका लागि कूल ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखिएकामा हालसम्म ५.५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड ८० लाख बराबर वैदेशिक अनुदान लिइएको छ ।
चालु आवका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको वार्षिक बजेट रहेकामा चैत मसान्तसम्ममा ९ खर्ब एक अर्ब ६७ करोड २५ लाख खर्च भएको छ । यो वार्षिक लक्ष्यको ५१.५९ प्रतिशत बराबर हो ।
चालुगत शीर्षकमा कूल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर बजेट छुट्याइएकामा ५६.१५ प्रतिशत अर्थात् ६ खर्ब ४१ अर्ब १० करोड ५८ लाख खर्च भएको छ । चालु शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ५६ दशमलव १५प्रतिशत हो ।
त्यसैगरी, पुँजीगत खर्च शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबर छुट्याइएकामा ३१.४१ प्रतिशत अर्थात् ९४ अर्ब ८८ करोड ९५ लाख बराबर खर्च भएको छ ।
वित्तीय व्यवस्थामा ३ खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर बजेट विनियोजन भएकामा ५३.८९ प्रतिशत अर्थात् एक खर्ब ६५ अर्ब ६७ करोड ७२ लाख बराबर खर्च भएको छ ।
Advertisment