काठमाडौं : गत वर्ष राष्ट्रिय प्रसारण लाइनमा ५३३ मेगावाट विद्युत थपिएको छ । वि.स २०८० मा नेपालको विद्युत उत्पादन क्षमता ५३३ मेगावाटले वृद्धि भएको हो ।
चैत मसान्तसम्म विभिन्न २३ आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । यससँगै नेपालको विद्युत् उत्पादनको कुल जडित क्षमता झण्डै ३०५४ हजार मेगावाट पुगेको छ ।
यस अवधिमा ९७० किलोवाटको घट्टेखोला जलविद्युत आयोजनादेखि ७७ मेगावाटको लिखु–१ सहित गरी कुल २३ आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका छन् ।
सरकारले चालु आर्थिक वर्षमा कुल ९०० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिने अनुमान गरेको छ । आर्थिक वर्ष सकिन अझै ३ महिना बाँकी रहेको छ । यस अवधिमा सरकारले लिएको लक्ष्य पुरा हुने अपेक्षा गरिएको छ ।
कुन–कुन आयोजनाका कति बिजुली थपियो ?
गत वर्षको बैशाखमा सौर्य विद्युत पावर कम्पनीले उत्पादन गरेको २ मेगावाटको सौर्य विद्युत आयोजना र प्योर इनर्जी प्रालिले विकास गरेको १० मेगावाटको सौर्य विद्युत आयोजना राष्ट्रिय प्रसारणलाइनमा जोडिएका थिए ।
त्यसैगरी, पिपुल्स हाइड्रो पावर कम्पनीले उत्पादन गरेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजना, बेनी हाइड्रो पावर प्रोजेक्ट प्रालिले विकास गरेको १९.८ मेगावाट क्षमताको माथिल्लो सोलु आयोजना र मायाखोला हाइड्रो हाइड्रोपावर कम्पनी प्रालिले विकास गरेको १४.९ मेगावाटको माया खोला जलविद्युत् आयोजना गत वर्षको जेठमा प्रसारण लाइनमा थपिए ।
गत वर्षको साउन महिनामा मात्रै चार आयोजनाको १०३.६७ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिएको थियो । जसमा गाउँघर उज्यालो साना हाइड्रोपावर कम्पनी प्रालिले निर्माण गरेको ९७० किलोवाट क्षमताको घट्टे खोला जलविद्युत् आयोजना र ग्लोबल हाइड्रोपावर एसोसियट प्रालिले विकास गरेको ५२.४ मेगावाट क्षमता रहेको लिखु–२ जलविद्युत् आयोजना रहेका छन् ।
त्यस्तै सोही महिना रिभर फल्स हाइड्रोपावर डेभलपमेन्ट प्रालिले विकास गरेको १०.३ मेगावाटको डाउन पिलुवा जलविद्युत् आयोजना र अपी पावर कम्पनी लिमिटेडले विकास गरेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना पनि प्रसारण लाइनमा थपिएको थियो ।
राष्ट्रिय प्रसारण लाइनमा जोडिएका अन्य आयोजनाहरुमा बुङ्गल हाइड्रो प्रालिले विकास गरेको १०.७ मेगावाटको माथिल्लो सनिगाढ जलविद्युत् आयोजना, म्याग्दी हाइड्रोपावर प्रालिको १४ मेगावाटको घरखोला जलविद्युत् आयोजना रहेका छन् ।
साञ्जेन हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेको १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन जलविद्युत् आयोजना, गेलुन हाइड्रोपावर कम्पनीको ३.२ मेगावाट क्षमताको गेलुन खोला, मकर जितुमाया जलविद्युत् कम्पनीको ७ मेगावाट क्षमताको अप्पर सुरी जलविद्युत आयोजना पनि प्रसारण लाइनमा जोडिएको छ ।
त्यस्तै पियोर इनर्जी प्रालिले निर्माण गरेको १० मोगावाटको सौर्य विद्युत् आयोजना, रिजलाइन इनर्जी प्रालिको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत् आयोजना, झापा इनर्जी लिमिटेडको १० मेगावाटको सौर्य विद्युत् परियोजना,र माथिल्लो मैलुङ खोला जलविद्युत् १४.३ मेगावाट क्षमताको माथिल्लो मैलुङ जलविद्युत् आयोजना पनि प्रसारण लाइनमा जोडिसकेको छ ।
राष्ट्रिय प्रसारण प्रणालीमा थपिएका अन्य आयोजनाहरुमा याम्बलिङ हाइड्रोपावर प्रालिले निर्माण गरेको ७.२ मेगावाटको याम्बलिङ खोला जलविद्युत् आयोजना रहेको छ भने गत चैत महिनामा मात्रै चार वटा आयोजनाको २२८.५ मेगावाट विद्युत प्रसारण लाइनमा जोडिएको छ ।
जसमा पान हिमालय इनर्जी प्रालिले निर्माण गरेको ७७ मेगावाट क्षमताको लिुख–१ जलविद्युत् आयोजना, भुजुङ हाइड्रोपावर प्रालिको ७.५ मेगावाटको अपर मिदिम जलविद्युत आयोजना रहेका छन् ।
त्यसैगरी निलगिरि हाइड्रोपावर कम्पनी प्रर्वद्धक रहेको ७१ मेगावाटको निलगिरि खोला–२ क्यास्केड जलविद्युत् आयोजना र सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीले निर्माण गरेको ७३ मेगावाटको मध्य तमोर जलविद्युत आयोजना पनि सोही अवधिमा राष्ट्रिय प्रसारण लाइनमा थपिएका हुन् ।
सूची

Advertisment