काठमाडौं : सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार संस्थाले यस अवधिमा २ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १६३.४० प्रतिशतले बढी हो ।
गत वर्षको सोही अवधिमा लघुवित्तले ७७ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी सामान्य बढेसँगै खराब कर्जा घटेका कारण पनि खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। चैत मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी १७.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १५.८८ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १७.४९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २९१.०६ प्रतिशत बढेको छ।
गत आवमा ९.८४ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा घटेर ४.७४ प्रतिशतमा झरेको छ। खराब कर्जा घटेको कारण संस्थाको इम्पेरमेन्ट चार्ज ५ करोडबाट घटेर ५४ लाखमा सीमित भएको छ।
समिक्षा अवधिमा नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। चैतसम्म लघुवित्तको इपीएस १०.१७ रुपैयाँ बढेर १४.२ रुपैयाँ पुगेको छ। त्यस्तै लघुवित्तको प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात १२३.०५ गुणा रहेको छ। लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड १८ लाख रुपैयाँ रहेको छ ।
Advertisment