काठमाडौं : सरकारले शेयर कारोबारमा लिँदै आएको ब्रोकर कमिसन घटाएको छ । नेपाल धितोपत्र बोर्डको आइतबार बसेको सञ्चालक समितिको बैठकले जेठ १ देखि लागु हुने गरी १० प्रतिशतले ब्रोकर कमिसन घटाउने निर्णय गरेको हो ।
बोर्डको प्रस्तावअनुसार अर्थ मन्त्रालयले सहमति दिएसँगै कमिसन घटाउने निर्णय गरेपनि सबै सञ्चालकको हस्ताक्षर हुन बाँकी रहेको बोर्ड स्रोतले जनाएको छ ।
अर्थमन्त्री वर्षमान पुनले गत वैशाख पहिलो सातो मन्त्रिस्तरीय निर्णयबाट ब्रोकर कमिसन घटाउन बोर्डलाई निर्देशन दिएका थिए । बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ संयोजक रहने गरी बोर्डका तत्कालिन अध्यक्ष रमेशकुमार हमालले ब्रोकर कमिसन घटाउन २०८० जेठमा समिति गठन गरेका थिए ।
सोही अनुसार २०८० कार्तिक १ गते बसेको बोर्ड संचालक समितिको बैठकले हाल कायम रहेको ब्रोकर कमिशनमा समग्रमा १० प्रतिशत घटाउने निर्णय गरेर स्वीकृतिको लागि अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।
स्रोतका अनुसार हाल प्रतिकारोबार रकमका आधारमा लाग्दै आएको ब्रोकर कमिसन जेठ १ गतेदेखि १० प्रतिशत कम हुनेछ । हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत ब्रोकर कमिशन लाग्दै आएको छ ।
त्यस्तै ५ लाख भन्दा माथि २० लाख रुपैयाँ सम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिशन लाग्दै आएको छ ।
Advertisment