काठमाडौं : स्वास्थ्य बीमा बोर्डले हालसम्म स्वास्थ्य बीमा बापतको सवा ५१ अर्ब रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम शुरु भएदेखि हालसम्म बीमा वापतको ५१ अर्ब २१ करोड ६२ लाख ४० हजार ७२ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो ।
चालु आर्थिक वर्षमा मात्रै बोर्डले करिब १० अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । बोर्डले यस अवधिमा पाँच पटक गरी ९ अर्ब ८४ करोड ३४ लाख ४ हजार ७२ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।
चैत २८ गतेको बोर्डको निर्णय अनुसार स्वास्थ बीमा कार्यक्रम सञ्चालन गरेका सेवा प्रदायक केन्द्रहरुमा पाँचौ पटकको भुक्तानी पठाएको हो । बोर्डले पाँचौ पटकमा तीन अर्ब ३५ करोड २९ लाख ५० हजार ८६० रुपैयाँ दाबी भुक्तानी पठाएको हो ।
यस अघि फागुन ८ गतेको बोर्डको निर्णय अनुसार चौथो पटकमा एक अर्ब ५६ करोड ४६ लाख ८८ हजार १३५ रुपैयाँ दाबी भुक्तानी पठाएको हो ।त्यस्तै पुस ६ गते बोर्डको निर्णय अनुसार तेस्रो पटकमा एक अर्ब ७६ करोड ५३ लाख ६९ हजार ९६८ रुपैयाँ दाबी भुक्तानी पठाएको थियो ।
त्यसैगरी कात्तिक १९ गतेको निर्णय अनुसार दोस्रो पटक एक अर्ब ६९ करोड ६५ लाख ४३ हजार ५१८ रुपैयाँ दाबी भुक्तानी पठाएको थियो । असोज २ गते बसेको बोर्डको निर्णय अनुसार प्रथम पटक एक अर्ब ४६ करोड ३८ लाख ५१ हजार ५१९ रुपैयाँ दावी भुक्तानी पठाएको थियो ।
बोर्डका अनुसार हालसम्म सात प्रदेशका ३५५ वटा सेवा प्रदायक संस्थाहरुले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका छन् ।
सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकममध्ये चिसापानी प्राथमिक स्वास्थ्य केन्द्रको पेश्की फर्छोट ४ हजार ७ रुपैयाँ समेत भुक्तानी भएको बोर्डले जनाएको छ
Advertisment