Below Menu
Below Menu

दश महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशतमा सिमित 

दश महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशतमा सिमित 

काठमाडौं : सरकारले दश महिनामा झण्डै दुई खर्बको बजेट घाटा व्यहोरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म मुलुकले एक खर्ब ९९ अर्ब ८६ करोड ४४ लाख बराबर बजेट घाटा व्यहोरेको हो । 

यस अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । लक्ष्यअनुसार राजस्व संकलन नभएको अवस्थामा सरकारी खर्च निरन्तर बढ्दा वित्त व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको हो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार बैशाखमा वार्षिक लक्ष्यको ५८.०२ प्रतिशत आम्दानी र ६०.३५ प्रतिशत खर्च भएको छ ।

चालु आवका लागि सरकारले कूल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजश्व उठाउने लक्ष्य लिएको छ । कार्यालयको तथ्याङ्कअनुसार बैशाख मसान्तसम्ममा ८ खर्ब ५८ अर्ब २ करोड ८० लाख बराबर राजश्व असुली भएको छ । यो वार्षिक लक्ष्यको ५८.२ प्रतिशत बराबर हो ।

यस अवधिमा कर राजश्वतर्फ ५८.४८ प्रतिशत अर्थात् ८ खर्ब ३१ अर्ब ९३ करोड ३२ लाख उठेको छ । गैरकरतर्फ वार्षिक लक्ष्यको ५७.२१ प्रतिशत अर्थात् ७  खर्ब ४६ अर्ब ८३ करोड २८ लाख बराबर असुली भएको छ ।

चालु आवका लागि कूल ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखिएकामा हालसम्म ५.५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड ८० लाख बराबर वैदेशिक अनुदान लिइएको छ ।

चालु आवका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको वार्षिक बजेट रहेकामा बैशाख मसान्तसम्ममा १० खर्ब ५६ अर्ब ८९ करोड २४ लाख खर्च भएको छ । यो वार्षिक लक्ष्यको ६०.३५ प्रतिशत बराबर हो ।

चालुगत शीर्षकमा कूल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर बजेट छुट्याइएकामा ६५.९१ प्रतिशत अर्थात् ७ खर्ब ५२ अर्ब ५५ करोड ७३ लाख खर्च भएको छ । चालु शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ६५ दशमलव ९१ प्रतिशत हो ।

त्यसैगरी, पुँजीगत खर्च शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबर छुट्याइएकामा ३७.०४ प्रतिशत अर्थात् एक खर्ब ११ अर्ब ८८ करोड २९ लाख बराबर खर्च भएको छ ।

वित्तीय व्यवस्थापनमा ३ खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर बजेट विनियोजन भएकामा ६२.०६ प्रतिशत अर्थात् एक खर्ब ९२ अर्ब ४५ करोड २२ लाख बराबर खर्च भएको छ ।
 

Advertisment