Below Menu
Below Menu

करिब २४ खर्ब पुग्यो सार्वजनिक ऋण, बैशाखमा थपियो साढे ११ अर्ब

करिब २४ खर्ब पुग्यो सार्वजनिक ऋण, बैशाखमा थपियो साढे ११ अर्ब

काठमाडौं : एक महिनामा साढे ११ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत चैतको तुलनामा बैशाखमा ११ अर्ब ६४ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको हो । 

चालु आर्थिक वर्षको दश महिनामा ९८ अर्ब ८ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । यो सँगै नेपालको सार्वजनिक ऋण करिब २४ खर्ब रुपैयाँ पुगेको छ ।

कार्यालयको तथ्यांक अनुसार बैशाख मसान्तसम्म देशको सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब ४३ करोड रुपैयाँ पुगेको हो । गत असारमसान्तसम्म २२ खर्ब ९९ अर्ब ३५ करोड रहेको सार्वजनिक ऋण रहेको थियो । कुल ग्राहस्थ उत्पादनको आधारण्मा सार्वजनिक ऋण ४२.२ प्रतिशत हुन आएको छ ।

यस अवधिसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ भने बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५करोड रुपैयाँ रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

चालु आवको दश महिनामा सरकारले लिएको कुल सार्वजनिक ऋण २ खर्ब ६४ अर्ब ६३ करोड रूपैयाँ रहेको छ । जसमा आन्तरिक ऋण एक खर्ब ९१ अर्ब रुपैयाँ रहेको छ भने बाह्य ऋण ७३ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म सरकारले आन्तरिक र बाह्य ऋणको साँवावापत एक खर्ब ६६ अर्ब ५५ करोड रूपैयाँ भुक्तानी पनि गरेको छ । सरकारले आन्तरिक तर्फको एक खर्ब ३५ अर्ब ६२ करोड र बाह्य तर्फको ३० अर्ब ९३ करोड रुपैयाँ बराबरको साँवा भुक्तानी गरेको हो ।

कार्यालयका अनुसार बैशाख मसान्तसम्म आन्तरिक ऋणकोे ब्याज भुक्तानीमा ५९ अर्ब ५ करोड रूपैयाँ खर्च भएको छ भने बाह्य ऋणको ब्याज भुक्तानी गर्न ७ अर्ब ६६ करोड रूपैयाँ खर्च भएको छ ।
 

Advertisment