काठमाडौं : पछिल्लो समय अर्थतन्त्रमा बीमा उद्योगको योगदानको हिस्सा बढ्दै गएको देखिएको छ । नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांक हेर्ने हो भने राष्ट्रिय अर्थतन्त्रमा बीमा उद्योगबाट साढे ७ खर्ब रुपैयाँभन्दा बढी लगानी भएको पाइएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमास अनुसार बीमा उद्योगबाट विभिन्न क्षेत्रमा ७ खर्ब ६० अर्ब ८८ करोड २६ लाख रुपैयाँ बराबरको लगानी भएको छ ।
जसमा सर्वाधिक लगानी जीवन बीमा कम्पनीको रहेको छ । जीवन बीमा कम्पनीहरुले यस अवधिमा विभिन्न क्षेत्रमा ६ खर्ब ६० अर्ब १२ करोड २८ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुको कूल लगानी ६३ अर्ब ५५ करोड १५ लाख रुपैयाँ, दुई पुनर्बीमा कम्पनीको लगानी ३७ अर्ब २० करोड ८३ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा बीमा कम्पनीहरुले वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा सर्वाधिक लगनाी गरेका छन् । चालु् आवको तेस्रो त्रैमासम्म जीवन बीमकहरुले वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा ४ खर्ब ५५ अर्ब ५ करोड ३१ लाख रुपैयाँ र निर्जीवन बीमकहरुले ४४ अर्ब ३ करोड २९ लाख रुपैयाँ लगानी गरेका छन् ।
प्राधिकरणका अनुसार बीमा उद्योगको अधिकांश लगानी सरकारको बचतपत्र तथा ऋणपत्र, बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप, घरजगा, शेयरबजार, डिबेञ्चर, नागरिक लगानी कोष र म्युचुअल फण्ड, इन्भेष्मेन्ट कम्पनीको शेयर लगायत अन्य कम्पनीहरु रहेका छन् ।
त्यस्तै, लगानीका अन्य क्षेत्रहरुमा कृषि उत्पादन, शित भण्डार, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा, नविकरण उर्जा परियोजना, केबल कार, सडक, जलविद्युत प्रशारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेको छ ।
बीमामा पहुँच भएको जनसंख्याको प्रतिशत बढ्दै जाँदा अर्थतन्त्रमा बीमा उद्योगको योगदानको हिस्सा पनि बढ्दै गएको प्राधिकरणले जनाएको छ ।
लगानीमा विविधतामार्फत् अर्थतन्त्रमा योगदान बढाउन प्राधिकरणले दबाब दिइरहेको छ भने अधिकांश बीमा कम्पनीहरु अझै पनि जोखिम लिन हिच्किचाई रहेका छन् ।
प्राधिकरणको निर्देशन अनुसार केही बीमकहरुले भने उत्पादनमुलक क्षेत्रमा लगानी बढाउँदै गएका छन् । बीमकले कूल लगानीको अधिकतम १० प्रतिशत रकम कृषि उत्पादन, शित भण्डार, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा, नविकरण उर्जा परियोजना, केबल कार, सडक, जलविद्युत प्रशारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न सक्ने प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय प्राथमिकतामा राखेका यी क्षेत्रहरुमा जीवन बीमकको लगानी ८ अर्ब ४८ करोड ७५ लाख रुपैयाँ रहेको छ भने निर्जीवन बीमकको लगानी ६७ करोड ६ लाख रुपैयाँ रहेको छ ।
उक्त क्षेत्रका लागि निर्जीवन बीमकमध्ये शिखर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन एभरेष्ट, सगरमाथा लुम्बिनी र आईजीआई प्रुडेन्सियलको लगानी रहेको छ ।
त्यस्तै, जीवन बीमकमध्ये सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान, निजी क्षेत्रको एशियन लाईफ इन्स्योरेन्सले मात्र सर्वाधिक लगानी गरेका छन् भनेसन नेपाल लाइफ, सिटिजन लाइफ, प्रभु महालक्ष्मी लाइफ र सानिमा रिलायन्स लाइफको पनि केही प्रतिशत लगानी रहेको छ ।
उक्त क्षेत्रमा राष्ट्रिय बीमा संस्थानले सर्वाधिक ४ अर्ब ८१ करोड ५० लाख रुपैया, एशियन लाईफ इन्स्योरेन्सले तीन अर्ब ३५ करोड रुपैयाँ लगानी गरेको छ भने निर्जीवन जीवन बीमकमध्ये सर्वाधिक लगानी गरेको शिखर इन्स्योरेन्सको रहेको छ । उक्त कम्पनीले सो क्षेत्रमा २७ करोड २६ लाख रुपैयाँ लगानी गरेको छ ।
जीवन बीमा तर्फको लगानी
नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा–३ अर्ब ५२ करोड ३ लाख
वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा –४ खर्ब ५५ अर्ब ५ करोड ३१ लाख
पूर्वाधार बैंकको मुद्दति निक्षेपमा –७० करोड रुपैयाँ
विकास बैंकहरुको मुद्दति निक्षेपमा –४३ अर्ब १२ करोड ७ लाख
फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा – १५ करोड २० लाख
सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा – ७६ करोड ४५ लाख
बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा–४५ अर्ब ९७ करोड ६५ लाख
सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा – २६ अर्ब १९ करोड ६ लाख
कृषि उत्पादन तथा वितरण, शीत भण्डार, गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत वीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्यमा – ८ अर्ब ४८ करोड ७५ लाख
नागरिक लगानी कोष र म्युचुअल फन्डमा – २ अर्ब ४५ करोड ७० लाख रुपैयाँ
इन्भेस्टमेन्ट कम्पनीको शेयरमा – ५२ करोड ६५ लाख रुपैयाँ
अन्य संस्थापक शेयरमा – १३ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ
सूचीकृत नभएका अन्य पब्लिक कम्पनीको शेयरमा – ६१ करोड ६१ लाख रुपैयाँ
अन्य लगानी- ३७ अर्ब ६० करोड लाख
निर्जीवन बीमा कम्पनीहरुको लगानी
नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा– २१ करोड ५३ लाख
वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा – ४४ अर्ब ३ करोड २९ लाख
विकास बैंकहरुको मुद्दति निक्षेपमा – ५ अर्ब ३९ करोड १५ लाख
फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा – एक अर्ब ६ करोड १० लाख सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा – ३ अर्ब ५७ करोड ५६ लाख
बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा–३ अर्ब १९ करोड ३२ लाख रुपैयाँ
सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा – ९३ करोड ५२ लाख
कृषि उत्पादन तथा वितरण, शीत भण्डार, गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत वीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्यमा – ६९ करोड ६ लाख
नागरिक लगानी कोष र म्युचुअल फन्डमा– ७४ करोड ६९ लाख
इन्भेस्टमेन्ट कम्पनीको शेयरमा – ५७ लाख रुपैयाँ
सूचीकृत नभएका अन्य पब्लिक कम्पनीको शेयरमा– एक करोड ९१ लाख
अन्य लगानी –२ अर्ब २० करोड
Advertisment